बक्यौता रकम नपाए 'बी' डिभिजन नखेल्ने १३ क्लबको चेतावनी

'बी' डिभिजन क्लबहरूले तयारीस्वरूप एन्फाले दिने पहिलो किस्ताको रकम प्राप्त नगरे क्लब दर्ता पनि नगर्ने बताएका छन्।

काठमाडौँ– अघिल्लो सिजनको बक्यौता रकम खातामा नआए शहीद स्मारक 'बी' डिभिजन लिग नखेल्ने १३ क्लबहरूले चेतावनी दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आइतबार ध्यानकर्षणपत्र बुझाउँदै ती क्लबहरूले ३५ दिनभित्र रकम क्लबको खातामा नआए यस सिजनको लिग नखेल्ने चेतावनी दिएका हुन्।

"क्लबहरूले पाउनु पर्ने ०७८/७९ को शहीद स्मारक 'बी' डिभिजन लिगको बक्यौता रकम आजका मितिले ३५ दिनभित्र क्लबको खातामा आउनु पर्नेछ। अन्यथा हामी बी डिभिजनका क्लबहरू यस सिजनको शहीद स्मारक 'बी' डिभिजन फुटबल लिग खेल्नको लागि असमर्थ हुनेछौँ", एन्फालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

एन्फाले 'बी' डिभिजन लिग आगामी चैत १५ गतेबाट गर्ने बताएको छ। तर, क्लबहरूले तयारीस्वरूप एन्फाबाट पाउने पहिलो किस्ताको रकम नआए क्लब दर्ता नगर्ने पनि बताएका छन्।

"यहि मिति २०७९ चैत्र १५ गतेबाट आयोजना गर्न लागेको शहीद स्मारक बी डिभिजन लिग २०७९/८० मा सहभागी हुने १४ वटा बी डिभिजन क्लबहरूलाई दिने तयारी रकममध्ये पहिलो किस्ता ८ लाख ७० हजार क्लबहरूको खातामा एन्फाबाट आएपछि मात्र क्लबहरूले एन्फामा दर्ता गर्ने जानकारी गर्दछौँ", पत्रमा भनिएको छ।

ध्यानाकर्षण पत्रमा लिगका १४ मध्ये १३ क्लबले हस्ताक्षर गरेका छन्। एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज युनाइटेड क्लबले भने ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेको छैन।