सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रामाथि हस्तक्षेप हुन नदिने बताएका छन्।

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन्।

प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत् आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध रहेको पनि पटकपटक दोहोर्‍याए।

नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागिपरेको बताए।

"म भन्न चाहन्छु, यो सरकारले प्रेसमाथि कुनै पनि किसिमको हस्तक्षेप गर्ने छैन। प्रेस स्वतन्त्रतालाई, लेख्न पाउने अधिकारलाई सुनिश्चित गर्नेछ," उनले भने। उनले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढी काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि सुनाए।

प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरू चल्नुपर्ने स्पष्ट पारे। उनले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतासमेत औँल्याए।