अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्।

आइतबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्। 

उनले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए। उनले कृषिको सुधारका लागि आवश्यक प्रविधि, ज्ञान र सिप विकासमा ध्यान दिनुपर्ने बताए।

"कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगतिर जोड दिने एउटा अभियानतिर देशलाई लैजान सकिएन भने आत्मनिर्भरता हुने या अर्थतन्त्रमा सुधार गर्ने अन्य उपायहरू सहायक नै हुन्छन्", उनले भने, "त्यसकारण कृषिमा सुधार, त्यसको लागि चाहिने अन्य आवश्यक प्रविधि, ज्ञान, सिपको विकास नै प्राथमिकतामा पर्नुपर्छ।"

प्रधानमन्त्री दाहालले देशको आर्थिक विकासको निम्ति संघीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताए। उनले संविधानले परिकल्पना गरेअनुरूप संघीय संरचना चलाउने ऐन नै नबनाईकन संघीयता उपयुक्त भएन भन्ने निष्कर्ष निकाल्नु नहुने धारणा राखे। उनले जनतालाई अधिकार सम्पन्न बनाउनेतिर ध्यान जान जरुरी रहेको भन्दै जनतामा गएको अधिकार खोस्नु दुर्भाग्यपूर्ण हुने बताए।

प्रधानमन्त्री दाहालले आफूले अहिले देशको अर्थतन्त्र सुधारको विषयलाई उच्च प्राथमिकता दिएको बताए।