सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्। 

सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पनि पछि पार्ने नीति नलिने बताए। सामुदायिक रेडियोहरू पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो।  

मन्त्री पौडेलले सामुदायिक रेडियोहरूको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरूको समाधानका लागि प्रतिनिधिमूलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे। 

अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताए। 'रेडियो र शान्ति' भन्ने नारासहित यस वर्षको विश्व रेडियो दिवस मनाइँदै छ।