तिहारमा प्रतिबन्धित भारतीय फूल आयात हुँदा नेपाली उत्पादनको अवमूल्यन

तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।

काठमाडौँ- हिन्दु नेपालीहरूको पर्व तिहारमा फूलहरू विदेशबाट आयात गर्न प्रतिबन्ध भए पनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ।

तिहारको पूर्व सन्ध्यामा काठमाडौँका बजारहरूमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो। बजारमा नेपाली फूलहरूको मूल्य भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधारणहरूले गुनासो गरेका छन्। घरका झ्याल,ढोका पसल सजाउनको लागि प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरूमा भन्दा यस वर्ष बढेको सर्वसाधारणले बताएका छन्।

सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रूपमा बिक्री भइरहेको स्वयं व्यापारीहरू नै बताउँछन्। उनीहरूले फूलमा नेपाल आत्मनिर्भर भए पनि भारतबाट फूल आयात हुँदा नेपाली फूल उत्पादन गर्ने किसान र व्यापारी मारमा परेको गुनासो गरेका छन्।

सोमवार काठमाडौँको न्युरोडमा माला व्यापारी प्रेमबहादुर गिरीले विगतका वर्षहरूमा भन्दा यो वर्ष मौसमको कारण फूलको मूल्य बढेको बताए। उनले तिहार भन्दा अगाडि फूल वर्षाको कारण कुहिएकाले बजारमा नेपाली फूल महँगो भएको बताए।

व्यापारी गिरीले तिहारमा भारतबाट पनि धेरै मात्रामा फूल आयात भएकाले नेपालमा उत्पादित फूल व्यापारीहरूलाई समस्या भएको गुनासो गरे। उनले विगतका वर्षहरूको भन्दा अहिले भारतबाट आयात हुने फूलमा कमी आए पनि पूर्णरूपमा नरोकिएको बताए।

उनले नेपाली उत्पादनलाई सरकारले व्यवस्थित गरेर आयातलाई पूर्णरूपमा रोक्नुपर्नेमा सरकारले नसकेको बताउँदै नेपाली उत्पादनलाई प्राथमिकता दिने सरकार नरहेको आरोप लगाए।

उनले काठमाडौँ महानगरले वर्षको एक दिन लक्ष्मी पूजाको दिन सडकमा फूल बेच्दासमेत लखेटेको भन्दै गुनासो गरे। 

सर्वसाधारणले नेपाल फूलमा आत्मनिर्भर भएर पनि भारतबाट आयात गरी महँगोमा बेचिरहेको बताए। एक सर्वसाधारणले भारतबाट फूल आयात प्रतिबन्ध भनिए पनि बजारमा व्यापारीहरूले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेको बताए।

उनले भारतबाट माला आयातमा रोक लगाएको भनिए पनि बजारमा भारतीय माला पनि प्रशस्त रहेको बताए। त्यस्तै न्युरोडमा सयपत्री फूलको माला किन्न आएका अर्का सर्वसाधारण विपिन खड्काले बजारमा विगतका वर्षहरूको भन्दा १० प्रतिशत भन्दा बढी मूल्य बढी परेको बताए।

उनले यो वर्ष नेपाली उत्पादनलाई प्राथमिकता दिएर भारतबाट कम आयात गर्नु राम्रो भएको बताए। खड्काले देशमा नै रोजगारी सिर्जना गर्नको लागि र नेपाली उत्पादन बढाउनको लागि मूल्य बढी भए पनि प्राथमिकता दिनुपर्ने बताए। 

बजारमा फूलको माला तथा अन्य रङ लगायत भाइमसला टोपी, लक्ष्मीको फोटाहरूको बिक्री र खरिद गर्ने मानिसहरूको उल्लेख्य भीड छ।