रास्वपा तत्काल सरकारमा नजाने, केन्द्रीय समिति विस्तार

सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरिरहेको, तर पार्टीसँग भएको सहमति कार्यान्वयन नभई सरकारमा नजाने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको बताए। उनले सत्तारूढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबस्ने निष्कर्ष निकालिएको बताए। सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभई आफूहरू सरकारमा नजाने उनको भनाइ छ।

“हामीले सरकारमा जाने वा नजाने भन्नेबारेमा धेरै छलफल गरेनौँ। किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभास भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ। पुनः सहमति हुन सक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ”, उनले भने।

त्यस्तै, बैठकले रास्वपाको केन्द्रीय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० सदस्यीय बनाएको छ। सोमबार नयाँ केन्द्रीय समिति सदस्यका रूपमा रास्वपाले १६ जनालाई चयन गरेको हो। मनोनीत हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यस्तै, बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन भएको उपमहासचिव बर्तौलाले बताए।