यातायात मजदुरको आन्दोलन : प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो

आन्दोलनका क्रममा १० प्रहरी र केही आन्दोलनकारी घाइते भएको बताइएको छ।

काठमाडौँ– सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका कारण बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ। सवारी जरिबानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर सोमबार दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्र रूप लिँदा बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलगायतको नेतृत्वमा सोमबार दिउँसोदेखि नयाँ बसपार्क, माछापोखरी, बालाजु लगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेर्स्याएर आन्दोलन गरिएको थियो। नयाँ बसपार्कदेखि गोँगबु चोकसम्मको मुख्य सडकबाट सञ्चालन हुँदै आएका बस तथा माइक्रो बस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन्।

उक्त सडक क्षेत्र अहिले चिनियाँ कम्पनीले विस्तार गर्दैछ। व्यक्तिको निजी जग्गाबाट सञ्चालन हुँदै आएका उक्त बस तथा माइक्रोबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न खोज्दा त्यहाँका व्यवसायीले असहमति जनाएका थिए। मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्र रूप लिँदा प्रहरीमाथि ढुंगा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजनी गर्नेसम्मका कार्य गरिएको थियो। आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगो लगाउनुका साथै प्रहरीको दुई वटा भ्यानमा आगो लगाएका थिए।

काठमाडौँ उपत्यका प्रहरी  कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठ आन्दोलनका क्रममा बालाजु चोकमा रहेको नेपाल प्रहरीको अस्थायी पोस्टमा क्षति पुर्‍याउनुका साथै दुई वटा प्रहरीको भ्यानमा आगो लगाएर क्षति पुर्‍याएको बताए।

आन्दोलनका क्रममा १० प्रहरी र केही आन्दोलनकारी घाइते भएको बताइएको छ। साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा अहिले भने सवारी साधन सञ्चालन हुन शुरू भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट ऐन तथा नियमअनुसार नै ट्राफिक जरिवाना गर्दै आएको बताउँछन्। “पहिलोपटक ट्राफिक प्रहरीको कारबाही पर्नेलाई ५००, दोस्रो पटक कारबाही पर्नेलाई एक हजार र तेस्रो पटकभन्दा माथि कारबाही पर्नेलाई एक हजार पाँच जरिबाना लिँदै आएका छौँ”, उनले भने।