कांग्रेसको प्रश्न : यातायात मजदुरका नाममा दिनदहाडै लुटपाट गर्ने को हुन्?

यातायात मजदुरको जायज माग सम्बोधन गर्नसमेत डा. महतले सरकारसँग माग गरे। 

काठमाडौँ– बालाजुस्थित बसपार्क क्षेत्रमा मजदुर आन्दोलनका नाममा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस तथा सांसद डा. प्रकाशशरण महतले राजधानीमै मजदुरका नाममा लुट मच्चिएको बताए। काठमाडौँको मुटुमा दिनदहाडै कैयौँ व्यवसायीका पसल  र दोकान लुटिँदा सरकार रमिते बनेको आरोप लगाए।

“नयाँ बसपार्कमा घटेको घटनाले हामीलाई गम्भीर बनाएको छ। त्यहाँका साना व्यवसायीहरूका मोबाइल लगायतका पसल लुटिएका छन्। काठमाडौँको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ,” उनले भने, “राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला? मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि? त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरूपण गरिनुपर्छ। सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस्।”

लुटपाटमा संलग्नलाई कारबाही नभए देशभर अराजकता फैलिने डा. महतको भनाइ थियो। यातायात मजदुरको जायज माग सम्बोधन गर्न पनि उनले सरकारसँग माग गरे।