युक्रेनमा रुसी आक्रमणको एक वर्ष : रुसले युद्ध हारिसकेको अमेरिकी दाबी

रुस-युक्रेन युद्ध तत्काल अन्त्य हुने देखिँदैन।

तस्वीर : एपी

अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी 'स्प्रिङ सिजन'मा युक्रेनले रुसमाथि आक्रमण गर्ने बताएका छन्। रुसले लडाइँको मैदानमा ठूलो संख्यामा नयाँ सैनिक थपेको भएपनि उनीहरूसँग पर्याप्त अभ्यास र आवश्यक उपकरणको अभाव भएको अस्टिनको दाबी छ। युक्रेनी रक्षा सम्पर्क समूह बैठकपछिको पत्रकार सम्मेलनमा रक्षामन्त्री अस्टिनले रुसले छिमेकी मुलुक युक्रेनमा वर्षभरि नै त्रासदी र आतंक मच्चाएको भन्दै रुसको निन्दा गरेका छन्।

यता, अमेरिकी संयुक्त कर्मचारी प्रमुख जेन मार्क मिलेले रुसले ‘रणनीतिक, परिचालन र सामरिक’ सबै हिसाबले युक्रेनसँगको युद्ध हारिसकेको दाबी गरेका छन्। अमेरिकी रक्षा मन्त्री अस्टिनसँगको संयुक्त पत्रकार सम्मेलनमा मिलेले रुसले युक्रेनसँगको युद्धमा ठूलो मूल्य चुकाउनु परेको बताए।

त्यस्तै, जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले पनि युक्रेनको आकाश सुरक्षित बनाउने विषय नै अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिए। उनले भने, "युक्रेनको आकाश आगामी ३/४ महिनासम्म सुरक्षित रहे मात्रै हामीले लडाकु विमान ढुवानीसहित अन्य कदमबारे छलफल गर्न सक्छौँ।"

जर्मनीको हतियार निर्माता कम्पनी रेनमेटलमा छिटै नै गोलाबारुद उत्पादन शुरू गर्ने जानकारी दिँदै उनले हवाइ रक्षासम्बन्धी महत्वपूर्ण विषयमा सहयोग गर्न पाउँदा खुशी भएको पनि रक्षामन्त्री पिस्टोरियसको भनाइ छ।

युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्नीकोभले उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको मन्त्रीस्तरीय वार्ताका क्रममा युक्रेनी आकाशलाई सुरक्षित बनाउने विषयलाई प्राथमिकता दिनुका साथै गठबन्धनलाई बलियो पार्ने, थप गोलाबारुद जुटाउने, युक्रेनी सेनालाई थप अभ्यास उपलब्ध गराउने तथा स्थायीरूपमा खर्चपानी जुटाउने, उपकरणहरूको मर्मत र व्यवस्थापन गर्ने लक्ष्य प्रस्तुत गरेका थिए।

नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले पनि युक्रेनमा गोलाबारूद उत्पादनलाई तीव्रता दिन एट्लान्टिक समूहका सैन्य गठबन्धनहरूलाई आग्रह गरेका छन्। साथै, नयाँ आक्रमण र अपराधको तयारी गरिरहेको भन्दै रुसी राष्ट्रपति पुटिनलाई स्टोलटेनबर्गले चेतावनी दिएका छन्। युक्रेनमा लडाकु विमान पठाउने विषय अजेन्डा रहेपनि अहिलेको प्राथमिकता नभएको भन्दै उनले पुटिनको ध्यानाकर्षण गराए।

बाखमुत शहर कब्जा गर्ने सिलसिलामा पछिल्लो दुईदिनमा रुसी सैन्य बलले निकै प्रगति हासिल गरेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसका प्रवक्ता जोन कर्बीले भने, “बाखमुतलाई रुसको कब्जामा गएपनि यसले सम्पूर्ण युद्धमा कुनै रणनीतिक प्रभाव पार्नेछैन।”

यसैबीच, युक्रेनको पूर्वी शहर बाखमुतनजिकैको पुलमा विस्फोट भएको बताइएको छ। यसलाई रुसले आक्रमणको नयाँ योजना बनाएको संकेत मानिएको छ। पछिल्लो ६ महिनायता रुस र युुक्रेनी सेनाबीच ठूलो लडाइँ भइरहेको बाखमुतबाट बाहिरिने मनसायमा आफुहरू नरहेको युक्रेनी सेनाको भनाइ छ। रुसले बाखमुत शहर कब्जा गरे युद्धको पहिलो वार्षिकीमा यसले रुसलाई सांकेतिक रूपमा बल प्रदान गर्ने द गार्डियनले लेखेको छ।

-एजेन्सी