मनाङले भित्र्यायो सनेगलका डियाग्ने र उज्वेकिस्तानका सेदजामोल

८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगका लागि सेनेगलका डिफेन्सिभ मिडफिल्डर र उज्बेकिस्तानका विंगरलाई भित्र्याएको छ।

काठमाडौँ- कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगका लागि सेनेगलका डिफेन्सिभ मिडफिल्डर र उज्बेकिस्तानका विंगरलाई भित्र्याएको छ।

क्लबका अनुसार स्पेनिस क्लब बार्सिलोनाको 'बी' टिमबाट खेलिसकेका डियावान्डोउ डियाग्ने र उज्बेकिस्तानको उमेर समूहबाट खेलिसकेका सेदजामोल दाभ्लातजोनोभलाई भित्र्याएको हो।

२८ वर्षीय डियावान्डोउ सन् २०१४ देखि २०१५ सम्ममा बार्सिलोनाको 'बी' टिमबाट खेलेका थिए। उनले सेनेगलको उमेर समूह र राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्। यस्तै, उज्बेकिस्तानका २५ वर्षीय विंगर सेदजामोल यू-१८,१९ र २० टिमबाट खेलिसकेका छन्। उनले उज्बेकिस्तानको शीर्ष डिभिजनको लिग पनि खेलेको मनाङले जनाएको छ। नयाँ सिजनको लिगका लागि एसियन कोटामा सेदजामोललाई अनुबन्ध गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एउटा क्लबलाई पाँच जना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान राखेको छ। यसअघि एउटा क्लबले चार खेलाडी खेलाउने पाउने व्यवस्था थियो।

नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन एन्फासमक्ष माग गरेका थिए। बजारमा खेलाडी अभाव भएपछि एन्फाले विदेशी खेलाडीको कोटा बढाएको थियो। 

नेपाली लिगमा विगतबाटै विदेशी खेलाडीको प्रभाव देखिँदै आएको छ। यस सिजनका लिग फागुन १९ गतेबाट शुरू हुँदै छ। उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्डस क्लब र खुमलटारबीच हुने छ।