हत्या आरोपमा २८ वर्ष जेल बसेपछि निर्दोष ठहर

अमेरिकी नागरिक लमार जोन्सन २८ वर्ष जेल जीवन बिताएपछि निर्दोष साबित भएका छन्।

बीबीसी

अमेरिकामा हत्या अभियोगमा २८ वर्ष जेल सजाय काटिसकेका एक व्यक्ति निर्दोष साबित भएका छन्। अमेरिकाका ५० वर्षीय लमार जोन्सन २८ वर्ष जेल बसेपछि मंगलबार रिहा भएका हुन्।

मिसोरीको सेन्ट लुइस अदालतका न्यायाधीश डेभिड मेसनको इजलासले उनलाई निर्दोष साबित गरेको हो। घटनाका दुई जना प्रत्यक्षदर्शीले जोन्सनले हत्या नगरेको भन्ने स्पष्ट र ठोस प्रमाण उपलब्ध गराएपछि उनलाई निर्दोष करार गरिएको न्यायाधीश मेसनले बताए।

सन् १९९४ मा मार्कस बोइडको हत्या आरोपमा जोन्सनलाई आजीवन जेल सजायको फैसला भएको थियो। सन् १९९४ को अक्टोबरमा नकाब लगाएका दुईजना बन्दुकधारीले मार्कसको गोली हानी हत्या गरेका थिए। हत्यामा जोन्सनलाई दोषी मानिएको थियो तर उनले आरोपको खण्डन गर्दै आएका थिए। घटनाका समय आफू घरमा नरहेको बारम्बार दोहोर्‍याउँदै आएका जोन्सन अन्ततः निर्दोष साबित भएको बीबीसीले जनाएको छ।

घटनाका एक प्रत्यक्षदर्शीले आफ्नो बयान फेरेको र मार्कसमाथि जोन्सनले नभइ फिल क्याम्पबेल भन्ने व्यक्तिले गोली चलाएको बताएका थिए।  क्याम्पबेललाई सुनुवाइका क्रममा ७ वर्षको जेल सजाय सुनाइएको थियो। गलत आरोपका कारण जेल परेका निर्दोष व्यक्तिहरूको रिहाइका लागि भन्दै गत वर्ष महान्यायाधिवक्ता किम गार्डनरले एक संस्थासँग मिलेर अनुसन्धानात्मक प्रतिवेदनसहित जोन्सनको रिहाइको निवेदन पेश गरेका थिए।

रिहाइपश्चात् जोन्सनको कानूनी टोलीले उनलाई जेल राख्ने महान्यायाधिवक्ताको आलोचना गरेका छन्। जोन्सनका वकिलले विज्ञप्ति जारी गर्दै “महान्यायाधिवक्ताको कार्यालयले लमारलाई सधैँभरि दोषी नै दाबी गरिरह्यो र उनी जीवनभर जेलमै सड्ने र मर्ने कुरा पनि कार्यालयलाई आरामदायी नै लाग्यो” भनेका छन्।

यता, महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले पनि विज्ञप्ति जारी गर्दै यस मुद्दामा अब थप कारबाही अघि नबढ्ने बताएको छ। “सुनुवाइका क्रममा आएका उपयुक्त तथ्यहरूका आधारमा मात्रै हामीले पुरानै आदेशलाई निरन्तरता दिएर कानूनी शासनको रक्षा मात्रै गरेका हौँ”, विज्ञप्तिमा भनिएको छ।