संसद्लाई ‘बिजनेस’ नदिएको भन्दै सत्तारूढ दलकै सांसदले गरे सरकारको आलोचना

राष्ट्रियसभाका सांसदहरूले सरकारले संसद्लाई ‘बिजनेस’ नदिएको आरोप लगाएका छन्।

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले संसद्लाई ‘बिजनेस’ नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन्। 

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाए। 

बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

उनले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठिक नभएको बताए। सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए। 

उनले भने, “बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन्।  दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि! बेलुका सचिवसँग बसेर भोलिका लागि कामको बारेमा छलफल गरे पो हुन्छ। मन्त्रीहरूको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ।”

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद्लाई ‘बिजनेस’नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन्। उनले निजामती कर्मचारी ऐन कहाँ छ भन्दै सरकारसँग प्रश्नसमेत गरिन्।

सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन्। उनले भनिन्, “निजामती ऐन कता लुकेको छ? अहिलेको यो सरकारले बिजनेस नै दिएन पार्लियामेन्टलाई। ऐन भटाभट आउनुपर्‍यो संसद्मा। समिति बस्छन्। त्यस विषयमा छलफल गर्छन्। ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानुन बनाएर काम गर्न सकेका छैनन्।”

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरूलाई आग्रह गरिन्। उनले महिला जनप्रतिनिधिहरू संघीयताको भावना अनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहोर्‍याइन्।