राष्ट्रपतिबाट पुष्कर गौतम, सांसद अरुणकुमार चौधरीसहित १४ जनाको सजाय माफी भएको छ।
काठमाडौँ– प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट पुष्कर गौतम, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीसहित १४ जना व्यक्तिहरूले सजाय माफी पाएका छन्।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा जन्मकैदको सजाय भुक्तान गरिरहेका गौतमको बाँकी सजाय राष्ट्रपतिबाट माफी भएको हो। ट्याक्टर जलाएको कसुरमा जेल सजाय भोगिरहेका सांसद चौधरीको सजाय पनि माफी भएको हो।
गौतमलाई श्रेष्ठको हत्यामा जिल्ला अदालत ओखलढुंगा र उच्च अदालत पाटनको जन्मकैदको फैसला गरेको थियो। पछि माघ ९ गते सर्वोच्च अदालतले पनि जिल्ला र उच्चको फैसला सदर गरेको थियो।
घटना सशस्त्र द्वन्द्वताका २०५५ सालमा भए पनि हत्या भएको ठहर गर्दै अदालतले गौतमलाई जन्मकैदको फैसला गरेको थियो। सोघटनामा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र गौतम प्रतिवादी रहेका थिए।
त्यस्तै, ट्याक्टरमा आगो लगाएको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो। कैलालीको चिसापानीस्थित गोरंगा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीसहितको समूहले २०६६ साल भदौ ३ गते ट्याक्टरमा आगजनी गरेका थिए।
चौधरीले अदालतको सजाय भुक्तानी नगरेर फरार रहेको माघ दोस्रो हप्तातिर सार्वजनिक भएको थियो। उनलाई प्रहरीले १९ गते बाँकेको कोहलपुरबाट पक्राउ गरेर त्यसको भोलिपल्ट जेल चलान गरेको थियो। गत मंसिर ४ मा भएको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेर निर्वाचित भएका थिए।
त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूबाहेक अन्य १२ जनाको पनि सजाय माफी गरेकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलका अनुसार उनीहरूको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसको उपलक्ष्यमा माफी गरिएको हो।
“राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ”, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, राष्ट्रपति भण्डारीले विष्णुकुमार लिम्बूसहित ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय पनि माफी गरेकी छन्। फागुन ४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार फागुन ७ गतेदेखि लागू हुने गरी उनीहरूको सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
"...विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ", राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
