कांग्रेस सांसद भण्डारीको अवस्था खतरामुक्त, सोमबार भेन्टिलेटर हटाइने

सिलिन्डर ग्यास लिक भएर गम्भीर घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको अवस्था 'खतरामुक्त' रहेको चिकित्सकहरूले बताएका छन्। सिलिन्डर ग्यास लिक भएर गम्भीर घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी सोही अस्पताल परिसरमा रहेका योगराज कँडेलले सामाजिक सञ्जालमार्फत दिएका हुन्। कँडेलका अनुसार नेता भण्डारीको अवस्थाबारेमा अस्पतालका डा. सुनिल केस्वानीले काउन्सिलिङ गरेका थिए। डा. केस्वानीले उनको स्वास्थ्यमा सुधार आएकाले सोमबार भेन्टिलेटर हटाउने योजना रहेको बताएको कँडेलले उल्लेख गरेका छन्।

"डा. सुनिल केस्वानीज्यूबाट काउन्सिलिङ सम्पन्न भएको छ। खुशीको कुरा उहाँमा धेरै नै सुधार देखिएकोले सोमबार भेन्टिलेटर हटाउने योजना रहेको बताउनु भयो। साथै मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरुन्तै अर्को सर्जरी नगर्ने, खतरामुक्त रहेको जानकारी," उनले सामाजिक सञ्जालमा लेखेका छन्।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास लिक भई नेता भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। त्यसको भोलिपल्ट बिहीबार हरिकलाको उपचारका क्रममा कीर्तिपुरमा निधन भएको थियो। नेता भण्डारीलाई बिहीबार नै थप उपचारका लागि मुम्बई लगिएको थियो।