एकैपटक ५५५ मादल बजाएर नेपाली सेनाले बनायो विश्व कीर्तिमान

वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बाधकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

काठमाडौँ– नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरेका हुन्।

सेनाले संगठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले शनिबार हस्तान्तरण गरेका हुन्।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ। नेपाली मौलिक चाड दसैँ, तिहार, संक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरू विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाई लिने गरिन्छ।

वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बाधकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

उनले भने, “नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न गर्‍यो। ठूलो संख्याले एकैपटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वर्ल्ड रेकर्डमा संग्रहित गरेका छौँ।”

मादल बज्नासाथ प्रत्येक व्यक्तिको मनमा संगीतको तरंग चल्छ। हाम्रो संस्कृतिसँग जोडिएको विशिष्ट पहिचान जोडिएको बाजा मादल नै हो।

गायक निर्णय एनएसकेले मुलुकमा व्यापक रूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपालाई संसारभर परिचित गराउन सफल भएको प्रतिक्रिया दिए। सेनाले कायम गरेको रेकर्ड प्रमाणित गर्ने टिममा रहेर आफूले काम गरेको उनले बताए।