आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण तथा समावेशी आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। 

आइतबार ७३ औँ प्रजातन्त्र मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। 

उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए। 

प्रधानमन्त्री दाहालले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे। 

त्यस्तै, उनले देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको भन्दै नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवा प्रवाहमार्फत सुशासनको प्रत्याभूत दिलाउन लागिपरेको बताए। 

अर्थतन्त्रका चुनौतीहरूको सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। 

उनले भने, “संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो।”

प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनहरूप्रति उच्च सम्मानसहित समाजवाद उन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सबैमा आग्रह गरे। 

उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्त्वपूर्ण कार्यभार आफ्ना सामु रहेको बताए।