उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले चितवन–२ मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि  फागुन १६ सम्म दल दर्ताका लागि आह्वान गरेको छ। 

चितवन– आगामी वैशाख १० गते चितवन– २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले आइतबार सूचना जारी गर्दै फागुन १० देखि १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। सूचनामा २०७९ फागुन ५ सम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ।

“नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन एकदेखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा निवेदन दिन सूचित गरिएको छ,” सूचनामा उल्लेख छ।

मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि उक्त क्षेत्र रिक्त छ। उपनिर्वाचनका लागि आयोगले कार्य तालिकासमेत सार्वजनिक गरिसकेको छ। चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ।

चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने छ। यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।