जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान थाल्ने

जजिराले फागुन २५ गतेदेखि हप्ताका तीन दिन शनिबार, मंगलबार र बिहीबार उडान गर्ने भएको छ।

काठमाडौँ– जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी फागुन २५ गतेदेखि पुनः उडान थाल्ने भएको छ। गत जेठ २ गते उद्घाटनकै दिनदेखि भैरहवा–कुवेतको उडान भरेको जजिरा एयरवेजले खराब मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि आफ्ना उडानहरू काठमाडौँ सारेको थियो।

मौसममा सुधार हुँदै आएसँगै जजिराले आगामी फागुन २५ (मार्च ९) देखि उडान गर्ने तालिका बनाएको भैरहवा विमानस्थलका प्रवक्ता सुवास झाले बताए। “औपचारिक रूपमा सूचना आइसकेको छैन, तर जजिराले आफ्नो सिस्टममा राखिसकेको छ”, झाले भने।

उनले अगाडि थपे, “खराब मौसमका कारण जजिराले भैरहवाबाट गर्दै आएको उडान काठमाडौँ सारेको थियो, स्थगित गरेको होइन।” उनका अनुसार जजिराले फागुन २५ गतेदेखि हप्ताका तीन दिन शनिबार, मंगलबार र बिहीबार उडान गर्ने छ।

जजिरा एयरलाइन्सले उडान सारेपछि फाट्टफुट्ट आउने चार्टर्ड विमानबाहेक अहिले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प छ। करिब ३१ अर्ब रुपैयाँ खर्चिएर निर्माण गरिएको राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराबाहेक अन्य वायुसेवा कम्पनीले उडानका लागि चासो देखाएका छैनन्।