राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन्।

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहितका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए। भेटमा सभापति देउवा सहितका नेताहरूले राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

“हामीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रपतिमा सहयोग गर्नुस् सहकार्य गरेर जाऊँ भन्ने आग्रह गरेका छौँ”, भेटबारे एक नेताले भने, “उहाँले यसबारे पार्टीमा छलफल गर्छु भन्नुभएको छ।”

कांग्रेसका नेताहरूको आग्रहपछि सोमबार नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी बैठक बोलाएको छ। बैठकमा कांग्रेस गरेको आग्रह र सहकार्यको प्रस्तावमा छलफल हुने बताइएको छ।