पर्वतबाट यस वर्ष झण्डै ३० करोड रुपैयाँ बराबरको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको छ।
पर्वत- जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ।
यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ। सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ। गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन्। जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो।
निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रु २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिए। पर्वतबाट औसतमा रु ७० को दरले सुन्तला निर्यात भएका छन्। यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताए।
जिल्लामा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ। सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन शुरू हुनेछ। उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ।
गत आर्थिक वर्ष ०७८/७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताए।
यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो। पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरूले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ। “किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो।” उनले भने।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला र मोदी, महाशिला र पैयुँ गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रूपमा विकास गरिएको छ। जिल्लामा सबैभन्दा बढी जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ। यहाँको एउटै गाउँबाट झण्डै रु आठ करोडको सुन्तला निर्यात भएको छ।
त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैयुँ गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रूपमा सुन्तला खेती गरिँदै आएको छ।
जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ। अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
