प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

एयरलाइन्सलाई पत्राचार गरी तत्काल उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

काठमाडौँ– नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सको सम्पूर्ण उडान रोकेको छ। 

कर्मचारीलाई तलब लगायतका सेवा सुविधा दिन नसकेपछि हवाई सुरक्षामा असर पर्न सक्ने अनुमान गरे सबै उडान बन्द गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। सोमबार कम्पनीलाई पत्राचार गरी तत्काल उडान रोक्न निर्देशन दिइएको उनले जानकारी दिए।

“त्यहाँ कार्यरत कर्मचारीबाट सेवा सुविधा नदिएको भन्ने गुनासो आयो, सेवा सुविधा नपाएको मनोविज्ञानबाट काम गर्दा उडान सुरक्षामा पनि जोखिम आउन सक्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि सबै जहाज ग्राउन्डेड गर्न पत्र पठाएका छौँ”, निरौलाले भने।

गुण एयरका सातवटा जहाजले तुम्लिङटार, पोखरा, भरतपुर लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका थिए।