एनआरटीले अनुबन्ध गर्‍यो २ भारतीय खेलाडी

एनआरटीले भारतीय फरवार्डद्वय लाल नुन्जामा कोल्ने र शैभिस सिंहलाई अनुबन्ध गरेको छ।

काठमाडौँ– आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगका लागि न्यूरोड क्लब (एनआरटी)ले दुई भारतीय खेलाडीलाई अनुबन्ध गरेको छ। एनआरटीले सोमबार सामाजिक सञ्जालमार्फत भारतीय फरवार्डद्वय लाल नुन्जामा कोल्ने र शैभिस सिंहलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

एनआरटीका अनुसार कोल्नेलाई एफसी गोवाबाट अनुबन्ध गरिएको हो। उनले प्रि-सिजनमा एनआरटीबाट खेलेका थिए। १९ वर्षीय सिंहलाई भने दिल्ली युनाइटेडबाट अनुबन्ध गरिएको हो। दुवैलाई साउथ एशियन कोटामार्फत अनुबन्ध गरिएको एनआरटीले जनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एउटा क्लबलाई पाँच जना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान राखेको छ। यसअघि एउटा क्लबले चार विदेशी खेलाडीलाई खेलाउन पाउने व्यवस्था थियो।

नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन एन्फासमक्ष माग गरेका थिए। खेलाडी अभाव भएपछि एन्फाले विदेशी खेलाडीको कोटा बढाएको थियो।

'ए' डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुँदै छ। उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्डस क्लब र खुमलटारबीच हुनेछ।