राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणनाकै आधारमा

राष्ट्रपतिका कुनै पनि उम्मेदवारले बहुमतप्राप्त नगरेमा फागुन २६ गते नै अर्को निर्वाचन गर्ने प्रमुख आयुक्त थपलियाले बताए।

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाका आधारमा गर्ने भएको छ।

सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनापश्चात् सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताए।

उनले जनगणना २०७८ को आधिकारिक नतिजाप्राप्त नभएकोले ०६८ सालको जनगणनाअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भएबमोजिम मतभारलाई मानी निर्वाचन गराउने स्पष्ट पारे।

“निर्वाचन आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारिक रूपमा जनगणनाको नतिजाप्राप्त भई नसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भएबमोजिमको नै मतभारलाई आधार मानी यो निर्वाचन सम्पन्न हुने छ”, उनले भने।

उनले २५ गते हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उनको भनाइ छ।

आयोगले राष्ट्रपतिका लागि फागुन २५ गते दिउँसो ३ बजेसम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आन्तरिक तयारी रहेको छ। राष्ट्रपतिका कुनै पनि उम्मेदवारले बहुमतप्राप्त नगरेमा फागुन २६ गते नै अर्को निर्वाचन गर्ने प्रमुख आयुक्त थपलियाले बताए।

निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।