ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ : राष्ट्रपति

शेर्पा समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्। 

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्।

मंगलबार ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्ता पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी हुन्। “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,” उनको सन्देशमा भनिएको छ।

शेर्पा समुदायले फागुन शुक्ल पक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्। आफ्नो घर आँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतले पनि ग्याल्पो ल्होसारको शुभकामना दिएका छन्।