साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

विदेशमा रहेका नेपालीको स्वाभिमान तथा आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार बिहान बालुवाटारमा कार्कीका बुबा गणेशबहादुर सहितको टोलीलाई भेट्दै प्रधानमन्त्री दाहालले उक्त प्रतिबद्धता जनाएका हुन्। उनले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने प्रक्रिया तत्काल थाल्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए।

“वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। उनीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्,” प्रधानमन्त्री दाहालले भने, “विदेशमा रहेका नेपालीहरूको आत्म स्वाभिमान तथा आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ।”

धनकुटाको चौबिसे गाउँपालिका–४ निवासी कार्की ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।