स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत अन्तिम खेलमा स्कल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए। उनले ५० बलमा ९ चौका र २ छक्का प्रहार गरे। ओडीआईमा उनको यो ११औँ अर्धशतक हो।

यता, म्याथु क्रशले ६३ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। ब्रान्डन म्याकुलमले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए। यस्तै, ओपनर काइल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले २२/२२ रन बनाए। स्कल्यान्डका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।

यता, करण केसीले ३ विकेट लिए। उनले ८.१ ओभर बलिङ गर्दै ४२ रन दिए। करणले ओडीआईमा ५० विकेट पूरा गरेका छन्। उनी ओडीआईमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन्। यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका थिए। ललित राजवंशी र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।