म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ विदेश नीति सल्लाहकार वाङ यीले दिएको अभिव्यक्तिले अमेरिका तथा युरोपेली देश सशंकित देखिएका छन्।
चीन र रुसको बढ्दो निकटताले अमेरिका र युरोपेली देश सशंकित देखिएका छन्। विश्वभर नयाँ किसिमको शीतयुद्ध शुरू भएका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको निकटतालाई प्रतिवाद गर्न अमेरिकाले विश्वव्यापी गठबन्धनको योजना बनाइरहेको पनि न्युयोर्क टाइम्सले लेखेको छ।
जर्मनीको म्युनिखमा शनिबार ९५औँ म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला निर्देशक वाङ यीले युक्रेनको ‘सार्वभौमिकता र सुरक्षाको प्रत्याभूति’मा जोड दिए। यद्यपि, उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको बिस्तारले युरोपमा अस्थिरता बढेको भन्दै रुसको पक्षमा समेत धारणा राखेका थिए।
वाङ यीको उक्त अभिव्यक्ति पछि अमेरिका र युरोपले चीन रुसको समर्थनमा हाकाहाकी लागेको आरोप लगाएका छन्।
युक्रेन तत्काल नेटोमा आबद्ध हुन नसक्ने स्थितिमा पनि रुसले आफ्ना १ लाख ९० हजार सैनिकलाई सीमा क्षेत्रमा परिचालन गरेको थियो। र, युक्रेन कब्जा गर्ने उद्देश्यले रुसले त्यसो गरेको पश्चिमाहरूको आरोप थियो।
यता, वर्तमान र पूर्वअमेरिकी र युरोपेली अधिकारीहरूले रुस र चीनबीचको अहिलेको घनिष्ठता विश्व व्यवस्थाको पुनर्गठनको एक संकेत भएको भन्दै त्यसले आफूहरू त्रसित भएको बताएका छन्।

नयाँ शीतयुद्ध शुरू भइसकेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नयाँ युरोप र एशिया प्रशान्त रणनीतिक समूह समावेश गरी प्रजातान्त्रिक मुलुकहरूको गठबन्धन बनाउने योजनामा काम गर्ने बताइसकेको छ। साथै, ती देशलाई अत्याधुनिक सैन्य क्षमता बिस्तारमा पनि सहयोग गर्ने अमेरिकी योजना छ।
रुस र चीनबीचको निकटताले चिढिएको अमेरिका युक्रेन युद्धमा चीनले सैन्य सहयोग गर्ने खबर बाहिरिएपछि थप आक्रोशित बनेको छ। सम्मेलनका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र चिनियाँ समकक्षी वाङबीच भएको साइडलाइन वार्ता रुस युक्रेन विषयका कारण पेचिलो बनेको थियो।
वार्ताका क्रममा ब्लिनकेनले रुसलाई हतियार सहयोग नगर्न चीनलाई चेतावनी दिएका थिए। रुसमाथिको प्रतिबन्धलाई कमजोर बनाउने कुनै सहयोग नगर्न पनि उनले चेतावनी दिएका थिए। भेटवार्ताका क्रममा ब्लिनकेनले अमेरिकी आकाशमा भेटिएका चिनियाँ बेलुनबारे पनि चीनको आलोचना गरेको ‘द गार्डियन’ले उल्लेख गरेको छ।
अमेरिकी विदेशमन्त्री ब्लिनकेन भन्छन्, “चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा विचार गरिरहेको छ। युक्रेन युद्धमा प्रयोग गर्न बन्दुक र हतियार सहयोग गर्ने भन्ने सूचना पनि पाएका छौँ। रुसलाई सैन्य सहयोग गर्ने विषयमा चीनले कुनै गतिविधि गरेको नदेखिए पनि हामी चीन अहिले के गर्दैछ भन्ने बारे प्रमाण तथा सूचनाहरू जुटाइरहेका छौँ।”
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रमुख प्रवक्ता जोन एफ कर्बीले गत साता अमेरिकी सरकारले चीन र रुसबीचको बढ्दो निकटता नियालिरहेको बताएका थिए। “गत फेब्रुअरीमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भएको भेटले युक्रेन मामिलामा रुसको सैन्य तयारीको पछाडि चीनको साथ रहेको देखाउँछ,” कर्बीको विश्लेषण छ।
“एकअर्कालाई उनीहरूको मौन समर्थन रुसका लागि गम्भीर चिन्ताजनक हुनसक्छ। वास्तवमै भन्दा यसले युरोपको सुरक्षा अवस्थाका लागि निकै अस्थिरता पैदा गर्नेछ,” कर्बीको चेतावनी छ।

रुसलाई सहयोग गर्ने क्रममा चीनले पछिल्लो समय आर्थिक सहुलियत दिने तथा रुससँगको सम्बन्ध बिस्तार गरिरहेको पश्चिमा मिडियाको टिप्पणी छ। “पछिल्लो समय रुससँग चीनको व्यापार बढिरहेको छ। चीनले रुसी तेल किनिरहेको छ तर जी सेभेन राष्ट्रहरू र युरोपेली युनियनले तोकेको प्रतिब्यारेल ६० डलरभन्दा कम मूल्यमा किनिरहेको हुनसक्छ,” द गार्डियनले लेखेको छ।
योसँगै पछिल्ला केही सातामा नयाँ पाइपलाइनमार्फत् रुसबाट चीनमा ग्यास लैजाने विषयमा दुई मुलुकबीच ३० बर्से सम्झौता समेत भएको छ। यति मात्र होइन, उत्तर कोरियाको नयाँ क्षेप्यास्त्र परीक्षण सम्बन्धमा राष्ट्रसंघले लगाएको नयाँ प्रतिबन्धमा साथ दिन ह्वाइट हाउसको प्रस्तावलाई समेत टारिदिएका छन्। यद्यपि, यी देशले यसअघि यसै प्रकारका प्रतिबन्धमा समर्थन जनाउने गरेका थिए। साथै, ठूलो संख्यामा रुसी सैनिकहरू साइबेरियादेखि पश्चिमतर्फ गएको र यो मस्कोले युक्रेनलाई आफ्नो भूमिमा गाभ्ने सम्भावित प्रयासको संकेत मानिएको छ। चीनसँग सीमा जोडिएको पूर्वी क्षेत्रमा यस्तो कदम चालिनुले दुई मुलुकबीचको विश्वास रहेको न्युयोर्क टाइम्सले लेखेको छ।
केही समयअघि रुस-चीनले आपसी सम्बन्ध र साझेदारीको व्याख्या गर्दै ५ हजार शब्द लामो संयुक्त विज्ञप्ति जारी गरेका थिए। जसमा दुई देशको अटुट साझेदारीको कुनै सीमा नरहेकोमा जोड दिइएको थियो। यसलाई बाइडेन प्रशासनका अधिकारीले रुस चीनबीचको लामो समयदेखिको घनिष्ठताको नयाँ मोड र अमेरिका र युरोपेली शक्तिलाई चुनौतीका रूपमा व्याख्या गरेका छन्।
त्यसै विज्ञप्तिमार्फत चीनले पहिलोपटक नेटोको बिस्तार रोक्नुपर्ने भन्दै रुसको खुलेर समर्थन गरेको थियो। र, दुवै देशले अमेरिकाको इन्डो प्यासिफिक रणनीति र बेलायत, अस्ट्रेलिया समावेश भएको नयाँ सुरक्षा साझेदारी अउकुसलाई अस्वीकार गरेका थिए। यस्तै, चीनले ताइवानलाई आफ्नो अखण्ड भू-भागका रूपमा व्याख्या गरेको छ।

रुस र चीनले वास्तविक लोकतन्त्र बिस्तार गर्न र अमेरिका समर्थित अवधारणा र संघसंस्थालाई प्रतिवाद गर्न मिलेर काम गर्ने घोषणा समेत गरेका थिए। जसलाई अमेरिकी र युरोपेली अधिकारीले विश्वमा नयाँ व्यवस्थाको उदय भएको र यहाँ निरकुंशतालाई कुनै चुनौती रहँदैन भनेका छन्।
“विद्यमान अन्तर्राष्ट्रिय व्यवस्था प्रतिस्थापन गरी नयाँ युग ल्याउन चाहन्छन्। उनीहरू कानूनी व्यवस्थाको सट्टामा शक्तिशालीको राज, आत्मनिर्णयको सट्टा दबाब र सहकार्यको सट्टा बल प्रयोग रुचाउँछन्,” युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले शनिबार म्युनिखमा भनेकी थिइन्।
चीन र रुसबीचको बलियो सम्बन्धले त्रिकोणात्मक शक्तिको उदय गराउनेछ। जसलाई ५० वर्ष अघि नै तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले आफ्नो कूटनीतिक सम्बन्ध सामान्य बनाउन ऐतिहासिक बेइजिङ भ्रमणमा गएका बेला नै अस्वीकार गरिदिएका थिए। त्यतिबेला अमेरिका र चीनले सोभियत युनियनसँग सन्तुलन बनाइराखेका थिए। तर, पछिल्ला केही वर्षमा बेइजिङ र मस्कोबीचको मित्रतामा विचारधारा र विदेश नीतिमा समानता देखिँदै आएको छ।
अवस्था बिलकुल विपरीत भइरहेको अमेरिकी रक्षा मन्त्रालयका पूर्वअधिकारी तथा क्यालिफोर्निया विश्वविद्यालयका २१ औँ शताब्दीको चीन केन्द्रका अध्यक्ष सुसन शर्कको भनाइ छ। उनी भन्छन्, “अमेरिकाप्रति दुवै देशको समान धारणा देखिन्छ र अहिले नेताहरूबीच पनि गहिरो मित्रता छ।” अमेरिकी राष्ट्रपति बाइडेनलाई चीनसँग कूटनीति बिस्तारमा ध्यान दिन र युक्रेन संकटको कारण नै रुस हो भन्ने कुरा बुझाउन उनको सुझाव छ।
उनी भन्छिन्, “चीन र रुस सैद्धान्तिक रूपमा एक छैनन्। बरू रुसलाई बढी आवश्यक देखिएको सम्झौतामा आधारित सम्बन्धजस्तो छ। अमेरिकालाई प्रतिवाद गर्ने रुसी राष्ट्रपति पुटिनको तरिकाबाट सी प्रभावित छन् तर उनले युरोपमा युद्ध हुँदा देखिने आर्थिक अस्थिरता निम्त्याउन चाहँदैनन्।
निर्देशक वाङले शनिबार भनेजस्तै चीनले पनि परम्परागत रूपमै सबै मुलुकको सार्वभौमिकताको सम्मान गर्दै आएको छ।”
चीनले भने युक्रेन संकटमा शान्तिपूर्ण समाधानको प्रयास खोजिरहेको बताएको छ। रुस र युक्रेन संकटलाई राजनीतिक तबरले टुंग्याउन र दुवै पक्षलाई शान्तिवार्तामा ल्याउन बेइजिङले सक्रिय भूमिका खेल्नेसम्बन्धी विस्तृत विवरण चीनले सार्वजनिक गर्न लागेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

सार्वजनिक हुने भनिएका कागजातले चिनियाँ राष्ट्रपति सी चिनफिङका महत्त्वपूर्ण तार्किक विषयमा केन्द्रित हुनेछन् जसमा हरेक देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुने विषय उल्लेख छ।
यस्तै, कहिल्यै पनि परमाणु युद्ध लड्नु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा चीनले जोड दिएको छ। साथै, आणविक ऊर्जा केन्द्रहरूमा आक्रमण विरुद्ध रहेको र बायोकेमिकल हतियारको विरुद्धमा संयुक्त प्रयासको पक्षमा चीन रहेको वाङको भनाइ छ। म्युनिख सुरक्षा सम्मेलनमा चीनले प्रस्ताव गरेको विषय र सार्वजनिक गर्ने भनिएका कागजातमा संकट समाधानको पाटोमा चीन सक्रिय रूपमा लागिपरेको र सरोकारवालाहरूलाई सम्झौता वार्तामा ल्याउने प्रयास गर्ने बताइएको छ।
युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबासँगको भेटवार्तामा वाङले युक्रेनको संकट समाधानका लागि चीन वार्ता र शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताएका थिए। “अन्तर्राष्ट्रिय जगतले जस्तै हामी पनि युक्रेन संकट लम्बिएको हेर्न चाहँदैनौँ। थप छलफलका माध्यमले अहिलेको स्थिति रोक्न चाहन्छौँ,” चिनियाँ विदेश मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, नेटोको भूमिकाबारे टिप्पणी गर्दै चिनियाँ पत्रिका ग्लोबल टाइम्सले रुस-युक्रेन युद्धको एक वर्ष बित्नै लाग्दा पनि नेटो अझै त्यही अल्झिराखेको र अर्को नयाँ विवाद बल्झाउने दाउमा बसेको भनेको छ।
म्युनिख सम्मेलनमा नेटो अध्यक्ष जेन्स स्टोटेनबर्गले रुस-युक्रेन द्वन्द्व लाई चीनसँग जोडेर चिन्ताजन्तक अभिव्यक्ति दिएका थिए। “आज युरोपमा जे भइरहेको छ, भोलि एसियामा पनि दोहोरिन सक्छ।” स्टोलटनबर्गको यो भनाइले ताइवान टापुमा युद्धको संकेत गरेको ग्लोबल टाइम्सको विश्लेषण छ।
उनले जे बोले ती सबै कुरा अमेरिकाको दिमागमा छन्, अमेरिकाको राजनीतिक समर्थन गर्ने नेटोले त्यसकै नक्कल गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसलाई चीनको समर्थनले द्वन्द्व बढाउने दाबी गरेकी थिइन्। यसरी वासिंटनले युक्रेन संकटको भूराजनीतिक मूल्य मेटाउन मात्रै चाहन्न सम्पूर्ण दोष नै चीनमाथि खन्याउन चाहन्छ। नेटो र अमेरिका दुवैले रुस र चीनलाई खतराका चित्रित गर्दै आएका छन्।
अमेरिकी आकाशमा उडेका चिनियाँ बेलुन खसालेको विषयले उत्पन्न तनाव, व्यापारका विषय, जासुसीको आरोप-प्रत्यारोप, वाशिंटन र बेइजिङबीचको कूटनीतिक सम्बन्धबारे अमेरिकी विदेशमन्त्री ब्लिनकेन र चिनियाँ समकक्षी वाङबीचको पेचिलो वार्ता, चिनियाँ सेनालाई बलियो पार्ने व्यापारिक र व्यावसायिक प्रयासजस्ता विषय अमेरिका र चीन सम्बन्ध थप बिगार्ने ताजा घटनाक्रम हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
