रियल मड्रिडद्वारा लिभरपुल पराजित

रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले समान २ तथा एडर मिलिसाओले १ गोल गरे। 

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा रियल मड्रिडले सानदार जित दर्ता गरेको छ।

मंगलबार राति एनफिल्डमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर रियलले लिभरपुललाई ५–२ स्तब्ध बनाएको हो। रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले समान २ तथा एडर मिलिसाओले १ गोल गरे। त्यसअघि घरेलु टोली लिभरपुलले डार्विन नुनेज र मोहम्मद सलाहको गोलमा अग्रता लिएको थियो।

लिभरपुलले चौथो मिनेटमै नुनेजको अग्रता लिएको थियो। १४औँ मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारे। रियलले पहिलो हाफमै बराबरी गोल फर्काएको थियो। २१औँ मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा सुन्दर गोल गरे।

३६औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए। रियलले दोस्रो हाफको शुरूमै अग्रता लियो। ४७औँ मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए।

त्यसपछि बेन्जेमाले ५५औँ र ६७औँ मिनेटमा गोल गर्दै रियललाई उत्कृष्ट पुनरागमन जित दिलाए। जितसँगै रियलले च्याम्पियन्स लिगको  क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

यी दुई टोलीबीचको अर्को खेल रियलको घरेलु मैदानमा मार्च १६ मा हुने छ।