चीनमा २४ सय वर्ष पुरानो ‘फ्लस ट्वाइलेट’

दरबारको भित्री भागमा भेटिएको यस ट्वाइलेटलाई अनुसन्धानकर्ताले संभ्रान्तहरूको ‘विलासिताको वस्तु’ भनेका छन्।

तस्वीर : सीएनएन

चीनमा दुई हजार ४०० पुरानो ‘फ्लस ट्वाइलेट’ का अवशेषहरू फेला परेका छन्।

चीनको सिआन शहरको मध्यभागस्थित युयांग पुरातात्त्विक क्षेत्रमा प्राचीन दरबारको उत्खननका क्रममा फ्लस ट्वाइलेटमा प्रयोग हुने घुमेको पाइपसहित अन्य अवशेषहरू भेटिएको ‘चाइना डेली’ले उल्लेख गरेको छ।

यो नै संभवत संसारको सबैभन्दा पुरानो फ्लस ट्वाइलेट हुनसक्ने पुरातत्त्वविद्को अनुमान छ। यसले प्राचीनकालमा चिनियाँ संभ्रान्तहरूले कति अत्याधुनिक जीवनशैली अपनाउँथे भन्ने कुरालाई दर्शाउने अनुसन्धानकर्ताहरूले बताएका छन्। दरबारको भित्री भागमा भेटिएको यस ट्वाइलेटलाई अनुसन्धानकर्ताले संभ्रान्तको ‘विलासिताको वस्तु’ भनेका छन्।

यस्तै, ट्वाइलेट बनाउन सिमेन्ट प्रयोग भएको विषयले प्राचीन चिनियाँहरू सरसफाइ र स्वास्थ्यमा कति सचेत थिए भन्ने प्रमाणित गरेको चाइनिज एकेडेमी अफ सोसल साइन्सका पुरातत्त्वविद् लिउ रुईको भनाइ छ। 

युद्धरत राज्य अवधिमा र पछि हान साम्राज्यका बेला सरकारका उच्च पदाधिकारीहरूले यो ट्वाइलेटको प्रयोग गर्ने गरेको उनले बताए। साथै, यसको प्रयोग लगत्तै सहयोगीले पानी खन्याएर सफा गर्ने गरेको पनि उनको अनुमान छ।

प्राचीन चीनमा घरभित्रै ट्वाइलेट बनाइएका संरचना बिरलै भेटिने गरेका छन्।