उमेरकाे विवादमा मुछिएपछि डीआईजी अशोक सिंहद्वारा राजीनामा

नागरिकता र शैक्षिक प्रमाणपत्रमा छुट्टाछुट्टै जन्ममिति रहेको भन्दै अख्तियारमा उजुरी परेपछि नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालय पुगेर उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई राजीनामा बुझाएका हुन्। 

उमेर विवादको विषय सार्वजनिक भएपछि उनले राजीनामा दिएको प्रहरीका एक अधिकृतले जानकारी दिए। प्रहरीले उनको राजीनामा आजै गृहमन्त्रालयमा पठाउने तयारी गरेको छ। 

भावी प्रहरी महानिरीक्षक बन्ने प्रयासमा रहेका सिंहले उमेर विवादमा तानिएपछि राजीनामा दिएका हुन्। 

उनको उमेर विवादका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ। सिंह २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

उनको नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेपछि उनी विवादमा तानिएका हुन्। उमेर सच्चाएर प्रहरीमा भर्ना भएको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो।

सिंह सुदूरपश्चिम प्रहरी प्रमुखका रूपमा कार्यरत थिए।