गत सिजनमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटीमाथि पुनरागमन जित हात पार्दै रियलले फाइनलमा लिभरपुलसँग भेट पक्का गरेको थियो।
“आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्दै जित्न सफल भयौँ। यस पटक पनि च्याम्पियन्स लिग जित्न चाहन्छौँ।”
बुधबार राति इंग्लिस क्लब लिभरपुललाई उसैको मैदानमा हराएपछि स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा पुनः आत्मविश्वासी देखिए।
यस सिजनमा रियल ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ८ अंकले पछाडि रहेको छ। बार्सिलोना युरोप लिगमा व्यस्त रहँदा साबिक विजेता रियल भने च्याम्पियन्स लिगमा आफ्नो दबदबा कायम गर्ने लक्ष्यमा दृढ देखिन्छ। तर, बुधबार लिभरपुलविरुद्ध उसैको मैदानमा रियलले ५-२ को शानदार ‘कमब्याक’ जित गर्दा गर्ला भनेरचाहिँ सायदै कसैले कल्पनासमेत गरेका थिएनन्।
खेलको २०औँ मिनेटसम्म साबिक विजेता रियलविरुद्ध लिभरपुल हाबी थियो। खेलको चौथो मिनेटमै डार्बिन नुनेजले मोहम्मद सलाहको 'ब्याकहिल' पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको १० मिनेटमै सलाह आफैँले रियलका गोलरक्षक थिवाउट कोर्टुवोले 'क्लिअर' गर्न नसकेको बललाई जाली चुमाउँदै अग्रता दोब्बर बनाए।
घरेलु मैदानमा सनसनी प्रदर्शन गर्दै आएको लिभरपुलले उक्त अग्रता भने धेरै समय कायम राख्न सकेन। २१ र ३६औँ मिनेटमा भिनिसियस जुनियरले दुई गोल गर्दै रियललाई खेलमा फर्काए। रियल त्यतिमै सीमित भएन। ४७औँ मिनेटमा एडर मिलिसाओले लुका मोड्रिचले फ्रिकिकमार्फत् दिएको बललाई हेडर गोल गर्दै अग्रता ३-२ मा पुर्याए। र, त्यसपछि दुई गोल थप्दै बेन्जिमाले रियललाई ५-२ गोलअन्तरको शानदार जित दिलाए।
यसअघि लिभरपुलले युरोपियन प्रतियोगितामा कहिल्यै एनफिल्डमा ३ भन्दा बढी गोल खाएको इतिहास थिएन। तर, यसपटक रियलले लिभरपुलको उक्त इतिहासलाई परिवर्तन गरिदियो।
रियलले हालसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ। जसमध्ये पछिल्ला ९ सिजनमा रियलले ५ कप जितेको हो। तीमध्ये दुई कप जुर्गेन क्लोपले सम्हालेको लिभरपुललाई (सन् २०१८ र २०२२मा) पराजित गर्दै रियलले जितेको छ।
“शुरूआतमै दुई गोल खाए पनि हामीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्दै जित्न सफल भयौँ। हामीले पाएको अवसरको सदुपयोग गर्दै दर्शकलाई रोमाञ्चक खेल देखायौँ,” खेलपछि बेन्जिमाले भने।
रियलले च्याम्पियन्स लिगमा नाटकीय जित हात पारेको पहिलोपटक भने होइन। गत सिजनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इंग्लिस क्बलद्वय चेल्सी र म्यानचेस्टर सिटीमाथि पुनरागमन जित हात पार्दै रियलले फाइनलमा लिभरपुलसँग भेट पक्का गरेको थियो।
उक्त सिजन रियलको भेट अन्तिम १६ मा पीएसजीसँग भएको थियो। पहिलो लेगमा १-० को पराजय भोगेको रियल दोस्रो लेगमा पनि १ गोलले नै पछाडि परेको थियो। तर, बेन्जिमाले ह्याट्रिक गोल गर्दै रियललाई समग्रमा ३-२ को जित दिलाए। उसको कमब्याक जित यतिमै रोकिएन।
क्वार्टरफाइनलमा चेल्सीसँग २ गोलले पछाडि परेको रियललाई जित दिलाउन बेन्जिमाले अन्तिम १० मिनेटमा गरेको २ गोल महत्त्वपूर्ण साबित भयो।
म्यानचेस्टरमा भएको सेमिफाइनलमा सिटीसँग समग्रमा ५-३ गोलले पछाडि परेको रियलले क्वार्टफाइनलमा जस्तै नाटकीय 'कमब्याक' गर्न सफल भयो। रियलका लागि निर्धारित ९० मिनेटको अन्तिममा रोड्रिगोले दुई गोल गरे।
फाइनलमा भने रियलले लिभरपुललाई १-० गोलअन्तरले पराजित गर्दै १४औँ पटक उपाधि उचाल्यो। उक्त उपाधि उचाल्दा भिनिसियसको गोल नै रियलका लागि निर्णायक बन्यो। यसपटक पनि रियललाई प्रतियोगितामा टिकाइराख्न भिनिसियसको दुई गोल महत्त्वपूर्ण रह्यो।
"वर्तमान विश्व फुटबलमा भिनिसियस जस्तो निर्णायक खेलाडी अर्को छैन भन्ने मलाई लाग्छ," रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टी भन्छन्। एन्सिलोट्टी दोस्रोपटक रियलको प्रशिक्षकका रूपमा 'टचलाइन'मा छन्।
उनले सन् २०१४ मा रियललाई च्याम्पियन्स लिग (एथ्लेटिको मड्रिडलाई फाइनलमा ४-१ गोलअन्तरले पराजित गर्दै) उपाधि जिताएका थिए।
त्यसपछि उनी सन् २०१६ मा रियल छाडेर जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भए। त्यसपछि इटालियन क्लब नेपोली र इंग्लिस क्लब एभर्टन सम्हाले। उनी सन् २०२१ मा भने रियल नै फर्किए। उनी फर्किनुअघि रियलले सन् २०१६, २०१७ र २०१८ मा पनि च्याम्पियन्स लिग जितेको थियो।
फेरि एकपल्ट च्याम्पियन बन्ने लक्ष्यमा बोकेको रियल लिभरपुलसँगको यो खेल भने कहिल्यै बिर्सने मुडमा देखिँदैन। "हामीले जस्तो शुरू गर्ने अपेक्षा गरेका थिएनौँ त्यस्तो भएन। तर, मैले दबाब महसुस गरिन्। दुई गोल खाएपछि मैले गत सिजन सिटीसँगको खेल सम्झिएँ। खेलमा फर्कन सक्छौँ भन्ने विश्वास थियो। त्यसपछि गोलका अवसर सिर्जना गर्दै जित निकाल्यौँ," उनी भन्छन्।
यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ मा पुर्याएको छ। ६ भेटमध्ये रियलले ५ जित र १ बराबरी खेलेको छ। लिभरपुलसँगको जितसँगै रियलको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।
अब रियलले घरेलु मैदानमा मार्च १५ मा लिभरपुलको आतिथ्य गर्नेछ। उक्त खेलमा लिभरपुललाई अगाडि बढ्न कम्तीमा ४-० गोलअन्तरको जितको आवश्यक पर्नेछ। तर, रियललाई बराबरीको नतिजा नै पर्याप्त हुनेछ। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
