एमाले अध्यक्ष ओलीले केही दिनअघि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माधव नेपालको नाम प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेका थिए। बुधबार दाहाल पनि सहमत भएपछि एकीकृत समाजवादीले सक्रियता बढाएको छ।
काठमाडौँ– राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेता बुधबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए। एकीकृत समाजवादीसँगको छलफलपछि देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगे।
यसअघि बुधबार दिउँसो नै एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो। बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको थियो। “बैठकको निर्णयअनुसार राष्ट्रपति निर्वाचनबारे कांग्रेस नेताहरूसँग छलफल गर्न धुम्बाराही गएका हौँ,” एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले भने।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न तीन दिन मात्र बाँकी छ। तर कुनै पनि दलले उम्मेदवारको टुंगो लगाएका छैनन्। यद्यपि, एमाले र कांग्रेस आफ्ना उम्मेदवारको पक्षमा माओवादी केन्द्रलाई मनाउने प्रयासमा छन्। बुधबार भने एकीकृत समाजवादीका नेताहरूले राजनीतिक सक्रियता बढाए।
सत्ता गठबन्धनको नेतृत्व गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसँग राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए। यो प्रस्तावमा बुधबार माओवादी पनि 'सकारात्मक' भएपछि एकीकृत समाजवादीको सक्रियता बढेको हो।
नेपालका नाममा सहमति जुटाउन दाहाल सक्रिय
एकीकृत समाजवादी अध्यक्ष नेपालले राष्ट्रपतिमा रुचि देखाएपछि प्रधानमन्त्री दाहाल पनि बुधबारदेखि उनको पक्षमा सहमति जुटाउन सक्रिय भएको माओवादीका एक शीर्ष नेताले बताए। “माधव नेपालको नाममा राष्ट्रिय सहमति जुटाउनुपर्छ भन्नेमा हामी तयार भएका छौँ। यसमा हामी मात्र तयार भएर भएन, कांग्रेस पनि तयार हुनुपर्यो, कांग्रेसलाई मनाउने अन्तिम प्रयास हुन्छ,” ती नेताले भने, “कांग्रेसले मानेन भने उसको पनि चित्त नदुखाउने गरेर अन्य केही सहमति गर्नुपर्छ भन्ने कुरा भइरहेको छ।”
कांग्रेसका नेताहरूले भने माओवादीले आफूहरूलाई वचन दिइसकेको बताउँदै आएका छन्। तर, माओवादीका ती नेताले कांग्रेसलाई माओवादीले कुनै वचनबद्धता नगरेको बताए।
माओवादीका अर्का एक पदाधिकारीले पनि कांग्रेसलाई राष्ट्रपति दिने कुनै वचन नदिएको बताए। “राष्ट्रिय सहमति खोज्नुपर्छ भन्ने हाम्रो निर्णय हो, राष्ट्रपति बनाउने वचन कसैलाई दिइएको छैन। माधव नेपालको नाममा सहमति जुटाउन प्रयास गरिरहेका छौँ,” ती पदाधिकारी भन्छन्, “आज बिहान प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको भेटमा पनि यस विषयमा कुराकानी भएको छ।”
यो पनि: ओलीको नयाँ 'मूभ', माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार
उनका अनुसार बुधबार बिहानको भेटमा ओलीले सुवास नेम्वाङको पक्षमा सहमति खोज्नुपर्ने प्रस्ताव राखेका थिए। तर, दाहालले भने माधव नेपाललाई तयार पारेर अघि बढ्नुपर्ने बताएका थिए।
“माधव नेपाललाई तयार पारौँ, सहमति गर्ने प्रयास म गर्छु। कांग्रेसलाई मनाउने काममा पनि म लाग्छु”, दाहालको भनाई उद्धृत गर्दै ती नेताले भने। तर एमालेले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने सर्तमा मात्र अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको माओवादी नेताहरू बताउँछन्।
प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार रहेका माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन आफूहरु सकारात्मक रहेको बताए। "तर, कांग्रेस पनि त्यसमा सहमत हुनुपर्यो, कांग्रेसलाई नमनाएर त राष्ट्रिय सहमति हुँदैन," उनले बुधबार साँझ उकालोसँग भने, "उहाँको पक्षमा नै सहमति जुट्यो भने त्यसमा कुनै समस्या नै भएन।"
गएको आइतबार एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को निवासमा ओली र नेपालबीच वार्ता भएको थियो। सोही वार्तामा ओलीले नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए।
अध्यक्ष नेपालले मंगलबार दाङमा यो विषयमा प्रतिक्रिया दिन नचाहे पनि बुधबार बसेको पार्टी सचिवालयको बैठकमा ओलीबाट राष्ट्रपतिको प्रस्ताव आएको स्वीकार गरेका छन्। “उहाँले सिधै प्रस्ताव नगरे पनि घुमाउरो तरिकाले राष्ट्रपतिको प्रस्ताव गरेको भन्ने कुरा ब्रिफिङ गर्नुभयो,” एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने।
एमालेका नेताहरू भने अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको कुरा मान्न तयार छैनन्। मंगलबार उकालोसँगको कुराकानीमा उपाध्यक्ष सुवास नेम्वाङले भनेका थिए, “अध्यक्षले राष्ट्रपति बन्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेको जस्तो पटक्कै लाग्दैन। किनभने प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति नै हुँदैन।”
विपक्षी दलको प्रवेशले सत्ता गठबन्धनमा रस्साकस्सी
गएको पुस १० मा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा सत्ता गठबन्धन बन्दा एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो। तर पुस २६ गते प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएपछि परिस्थिति अर्कै ढंगले अगाडि बढेको छ।
विपक्षी दलबाट पनि विश्वासको मत पाएपछि दाहालसहित माओवादी नेताहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अभिव्यक्ति दिन थालेका थिए। एमाले नेताहरू पूर्वसहमति कार्यान्वयन हुनुपर्ने अडानमा हुँदा सत्ता गठबन्धन दलबीच नै खटपट शुरू भएको हो।
माओवादी केन्द्रको गएको माघ १३ गते बसेको स्थायी कमिटी बैठकले भने राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने औपचारिक निर्णय गरेको थियो। त्यसपछि, सत्ता साझेदार दल एमाले अध्यक्ष ओली र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालबीच यो विषयमा चरणबद्ध छलफल भएका छन्। प्रधानमन्त्री दाहालले कांग्रेस र एकीकृत समाजवादीका नेताहरूसँग पनि लगातार छलफल गरिरहेका छन्।
उम्मेदवार मनोनयन गर्ने समय अझै बाँकी रहेकाले दुई दिनमा सहमति भइसक्ने माओवादी सचिव देवेन्द्र पौडेल बताउँछन्। “अहिले त एउटाले अर्कोलाई पासो फालेजस्तो भएको छ। दुई–तीन दिन बाँकी छ, केही सहमति होला,” उनले भने, “हामी सहमतिमै राष्ट्रपति चयन गरौँ भन्नेमा छौँ। त्यसका लागि प्रयास भइरहेको छ।”
सबै दललाई मिलेर जाऊ भनेर जनताले मत दिएकाले नै अहिले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारिएको पौडेल बताउँछन्। “शक्ति सन्तुलनअनुसार मिलेर जान जनताले जनमत दिएका छन्। एउटा पृष्ठभूमिको राष्ट्रपति, एउटा पृष्ठभूमिको प्रधानमन्त्री र सभामुख भयो भने ठिक हुन्छ भन्ने नै हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
