सात पटकका बलोन डि’ओर विजेता मेस्सीले खेलेका प्रतियोगितामध्ये नजितेको एउटै उपाधि विश्वकप मात्र हो।
काठमाडौँ– अर्जेन्टिनी फुटबल टिमका कप्तान लिओनल मेस्सीले केही दिनअघि अर्जेन्टिनाका पत्रकार सेबास्टियन भिग्नोलोसँगको अन्तर्वार्तामा फिफा विश्वकप २०२२ आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरे। उनको यो घोषणा अप्रत्याशित थिएन, किनभने उनी उमेरले ३५ वर्ष पुगिसकेका छन्।
अर्जेन्टिनाका लागि मेस्सीले सन् २००६ देखि विश्वकप खेल्दै आएका छन्। अन्तर्वार्तामा उनले यस पटक अर्जेन्टिनाले विश्वकप जित्ने आशा व्यक्त गरेका छन्। उनले भनेका छन्, “हामी (अर्जेन्टिनाको टोली) अहिले राम्रो स्थितिमा छौँ। हाम्रो टोली धेरै बलियो छ, तर विश्वकपमा जे पनि हुन सक्छ। सबै खेल कठिन छन्। हामी फेभरेट हौँ या होइनौँ थाहा छैन। तर, अर्जेन्टिना सधैँ विश्वकप जित्ने दाबेदार टोली हो।”
फुटबल शक्ति राष्ट्रहरूका खेलाडीको उपलब्धिलाई विश्वकप उपाधिसँग दाँजिन्छ। क्लब लिग फुटबलमा गहिरो छाप छाडेका ‘सुपर स्टार’ मेस्सीले आफ्नो देशलाई एक पटक पनि विश्वकप जिताउन सकेका छैनन्। उनीमाथि अर्जेन्टिनालाई एक पटक विश्वकप जिताउने दबाब अझै छ।
मेस्सीलाई दबाब झेल्न सक्ने खेलाडीको रूपमा लिइन्छ। उनले लामो समय स्पेनको बार्सिलोना क्लबबाट व्यावसायिक फुटबल खेले। त्यहाँबाट उनले सफलतासँगै नाम र दाम कमाए। आफ्नो देशलाई कोपा अमेरिकाको उपाधि पनि दिलाए। त्यसअघि सन् २०१४ मा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएकै हुन्। तर, जर्मनीसँग १–० ले पराजित भएपछि उनको उपाधि सपना पूरा हुन सकेन।
“अर्जेन्टिनाका लागि विश्वकप विशेष छ। सँगै मेरा लागि पनि,” चार वर्षअघि उनले भनेका थिए, “विश्वकप उपाधि उठाएको सपना सधैँ देख्ने गरेको छु। त्यसले भावुक पनि बनाउँछ। त्यो क्षण सम्झेर मेरो कपाल ठाडो हुन्छ।”
अब त उनको उमेर पनि ढल्किसकेको छ। ३५ वर्षीय मेस्सी अन्तिम पटक विश्वकप फुटबलमा देखिँदै गर्दा अठोट छाडेका छैनन्। “मैले सबै महत्त्वपूर्ण उपाधि जितेको छु। म यसको सुखद अन्त्य चाहन्छु,” उनले भनेका छन्, “देशलाई विश्व विजेता नबनाई सक्रिय खेल जीवनबाट सन्यास लिने चाहना छैन।”
संयोगले जुराएको रसिया विश्वकप
सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकप फुटबलमा उनले निकै उत्कृष्ट खेल देखाए। उनीद्वारा प्रेरित अर्जेन्टिनाको टिम फाइनलसम्म पुग्यो। दुवैतर्फबाट गोल नहुँदा फाइनल खेल अतिरिक्त समयमा धकेलियो। ११३औँ मिनेटमा जर्मनीका वैकल्पिक खेलाडी मारियो गोट्जेले निर्णायक गोल गरेपछि अर्जेन्टिना मेस्सीको कप्तानीमा पहिलो उपाधि जित्न चुक्यो।
सन् २०१८ मा भने मेस्सीका लागि रसिया विश्वकपको टिकट काट्नु नै ठूलो उपलब्धि रह्यो। ब्राजिल विश्वकपको फाइनललाई बिर्साउँदै रसिया विश्वकपमा मेस्सीले इतिहास रच्न सक्थे। तर, दक्षिण अमेरिका छनोट पार गर्न नै अर्जेन्टिनालाई हम्मे परेको थियो।
रसिया विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिल ४१ अंकका साथ पहिलो भएको थियो। दोस्रो भएको उरुग्वेले ३१ अंक जोड्दा अर्जेन्टिनाले २८ अंक जोडेको थियो। त्यस्तै, चौथो भएको कोलम्बियाको २७ र पाँचौँ भएको पेरु र छैटौँ भएको चिलीको २६ अंक थियो। पेरु प्लेअफबाट छनौट भएको थियो। अर्जेन्टिनाले कुल १८ खेलमध्ये सातमा जित हासिल गर्दा चारमा हार र सात खेलमा बराबरी गरेको थियो।
अर्जेन्टिनाको विश्वकप यात्रा अन्तिम खेलबाट मात्र टुंगो लागेको थियो। इक्वेडरसँग अन्तिम खेलमा यदि अर्जेन्टिना हारेको भए वा बराबरी खेलेको भए ‘प्ले अफ’समेत खेल्न नपाउने अवस्था थियो। त्यतिखेर न्यूयोर्क टाइम्सले हेडलाइन नै बनाएको थियो– के अर्जेन्टिनाले साँच्चिकै विश्वकप गुमाउला?
त्यति बेला विश्वकप छनोटको एउटा खेलमा मेस्सीले लाइन्समेनलाई गिज्याएको आरोपमा चार खेल गुमाउनु परेको थियो। त्यसैको असर अर्जेन्टिनाको खेलमा परेको थियो। अन्तिम खेलमा मेस्सीले ह्याट्रिक गर्दै विश्वकपमा अर्जेन्टिनाको स्थान सुरक्षित गराए।
त्यसअघि, सन् २०१४ को विश्वकप फाइनलसम्म पुगेर जर्मनीसँग एक गोलले पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका थिए। तर, अर्जेन्टिनी फुटबल संघ र समर्थकको आग्रहमा उनी पुनः टिममा फर्किए। सन् २०१८ मा विश्वकप जित्ने सपनासहित उनी रसिया पुगेका थिए।
मेस्सी र उनको टोलीले रसिया विश्वकपमा सन्तोषजनक शुरूआत गर्न सकेनन्। पहिलो खेलमै मेस्सीले पेनाल्टी चुकाउँदा अर्जेन्टिना आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो। आइसल्यान्ड विश्वकपको नवप्रवेशी टिम थियो। दोस्रो खेलमा त झन् अर्जेन्टिना फराकिलो अन्तरमा पराजित भयो। क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हरायो।
समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको क्रोएसिया नौ अंकको साथ अन्तिम–१६ मा पुग्यो। अर्जेन्टिना चार अंकका साथ संघर्षपूर्ण तरिकाले अन्तिम–१६ मा पुग्यो। त्यसका लागि उसले लिगको अन्तिम खेलमा नाइजेरियालाई २–१ गोलले पराजित गरेको थियो। अर्जेन्टिनाका लागि मार्कोस रोजा र मेस्सीले गोल गरेका थिए। नाइजेरियाले त्यसअघि नै आइसल्यान्डलाई २–० ले हराउँदा अर्जेन्टिनालाई अवसर मिलेको थियो।
तर, अन्तिम–१६ मा फ्रान्ससँग ४–३ ले पराजित भएपछि अर्जेन्टिना विश्वकपबाटै बाहिरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा भर्खरै १९ वर्षमा टेकेका किलियन एम्बाप्पेले दुई गोल गर्दा अर्जेन्टिनाको उपाधि यात्रामा पूर्णविराम लागेको थियो। त्यसपछि प्रशिक्षक जोर्जे साम्पोलीले राजीनामा दिएका थिए भने मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिएका थिए।
फ्रान्ससँग हार बेहोरेपछि मेस्सीको आलोचना बढ्दै गएको थियो। यता, अर्जेन्टिनाका पूर्व प्रशिक्षक तथा लिजेन्ड डिएगो म्याराडोनाले समेत मेस्सीलाई अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिन आग्रह गरेका थिए। म्याराडोनाले भनेका थिए, “मेस्सीलाई फेरि फर्केर राष्ट्रिय टोलीमा नजाऊ भन्न चाहन्छु। तिमी सन्यासको घोषणा गर।”
अर्जेन्टिनाले हार्ने हरेक खेलको दोष मेस्सीलाई नै लाग्ने भन्दै म्यारोडोनाले सन्यास लिन सुझाव दिएका थिए। “अब यू–१५ मा अर्जेन्टिना पराजित हुँदा पनि त्यो मेस्सीकै गल्तीले हुन्छ। जो जहाँ पराजित भए पनि त्यसको दोष सबै उनीमाथि जान्छ। त्यसैले म भन्छु– अब फर्केर नजाऊ,” म्याराडोनाले भनेका थिए।
तर, मेस्सी सन् २०१९ मा कोपा अमेरिका कपका लागि राष्ट्रिय टोलीमा फर्किए। यद्यपि, उनले अर्जेन्टिनालाई फेरि खुशी दिलाउन सकेनन्। अर्जेन्टिनाको यात्रा सेमिफाइनलमै सीमित भयो। सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग २–० गोल अन्तरले पराजित भयो। यस पटक पनि अर्जेन्टिना मेस्सीकै भरमा थियो। उमेर ढल्किँदै गएका मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन्। उनले पेनाल्टीमार्फत जम्मा एक गोल मात्र गरे। उक्त प्रतियोगितामा अर्जेन्टिना तेस्रोमै सीमित भयो।
सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकामा भने मेस्सी देशका लागि पहिलो उपाधि दिलाउन सफल भए। फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो। १९९३ पछि अर्जेन्टिनाले जितेको पहिलो ठूलो उपाधि यही थियो। उक्त उपाधिसँगै अर्जेन्टिनी दर्शकको वर्षौंदेखिको निराशा र घृणालाई मेस्सीले प्रेममा परिणत गर्न सफल भए।
अब अन्तिम मौका!
सात पटकका बलोन डि’ओर विजेता मेस्सीले यस पटक पनि विश्वकपमा राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ। अहिले पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका स्टार फरवार्ड मेस्सी अर्जेन्टिनी फुटबलको आशाका मेरुदण्ड मानिन्छन्। त्यही बलमा सन् १९८६ को उपलब्धि दोहोर्याउने अर्जेन्टिनाको दाउ छ।
सन् १९८६ मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई पछिल्लो पटक उपाधि दिलाएका थिए। त्यस विश्वकपमा अर्जेन्टिनाले खेलेका हरेक खेलमा म्याराडोना छाएका थिए। उनीपछि मेस्सीलाई नै अर्जेन्टिनाका प्रतिभाशाली खेलाडी मानिन्छ। सन् १९९० मा पनि म्याराडोना प्रेरित अर्जेन्टिना विश्वकपमा फाइनलमा पुगेको थियो र पश्चिम जर्मनीसँग पराजित भएको थियो। त्यसको २४ वर्षपछि सन् २०१४ मा मात्र अर्जेन्टिना विश्वकपको फाइनल पुग्न सक्यो। तर, फेरि पनि जर्मनीसँगै पराजित भयो।
मेस्सीले अहिलेसम्म चार वटा विश्वकप फुटबल खेलेका छन्। त्यसमध्ये तीन वटामा अर्जेन्टिनाका लागि जर्मनी बाधा भएको छ। सन् २००६ को विश्वकपमा जर्मनीसँग क्वाटर फाइनलमा पराजित हुँदा मेस्सी पनि टिमसँग थिए। त्यस्तै, सन् २०१० को विश्वकपमा म्याराडोना मुख्य प्रशिक्षक हुँदा अर्जेन्टिना जर्मनीसँग नै पराजित भएर क्वार्टर फाइनलबाटै घर फर्किन बाध्य भयो। २०१४ मा पनि जर्मनीसँगै फाइनलमा १–० ले पराजित भयो।
मेस्सीले विश्वकपमा खेलेका १९ खेलमा ६ गोल गरेका छन्। उनले २००६ मा एक गोल गरेका थिए। यस्तै, २०१४ मा चार गोल गरेका थिए भने ०१८ मा एक गोल गरेका थिए।
लियोनेल स्कालोनीको टोली अर्जेन्टिना गत वर्ष कोपा अमेरिका जितेयता उच्च फर्ममा छ। दक्षिण अमेरिकी विश्वकप छनोटमा मेस्सी प्रेरित अर्जेन्टिनाले १७ खेलमध्ये ११ जित ६ बराबरीसहित ४३ अंक जोडेर कतार विश्वकपको यात्रा तय गरेको थियो। ब्राजिलसँगको एक खेल भने अर्जेन्टिनाका खेलाडीले कोरोना ‘प्रोटोकल’ उल्लंघन गरेको भन्दै रद्द भयो। छनोट खेलहरूमा मेस्सी स्वयंले ६ गोल गरे।
मेस्सी देशबाट खेल्दा मात्रै होइन क्लबस्तरीय प्रतियोगितामा पनि जमिरहेका छन्। उनले पीएसजीका लागि ४१ खेलमा २० असिस्ट र १५ गोल गरिसकेका छन्। स्कालोनीको बलियो रणनीति र मेस्सीको सुझबुझपूर्ण निर्णय लिन सक्ने क्षमताका कारण अर्जेन्टिनालाई कतार विश्वकपको समूहचरणका खेलहरू त्यति गाह्रो नहुने अनुमान गरिएको छ। अर्जेन्टिना रहेको समूह ‘सी’मा साउदी अरब, मेक्सिको र पोल्यान्डसँग छ।
यद्यपि, अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कोलोनीले सबै खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। मेक्सिकन टोलीका मुख्य प्रशिक्षक अर्जेन्टाइन टाटा मार्टिनो छन्। उनले आफ्नो राष्ट्रिय टोलीलाई सन् २०१५ र २०१६ मा लगातार कोपा अमेरिकाको फाइनलमा पुर्याएका थिए।
यता, पोल्यान्ड यस्तो टोली हो, जोसँग विश्वकपमा ठूला सफलता हात पारेको इतिहास छ। पोल्यान्डले यसअघि सन् १९७४ र १९८२ मा दुईपटक विश्वकपमा तेस्रो स्थान हात पारेको थियो। तर, पोल्यान्डले त्यसपछि यो सफलतालाई निरन्तरता दिन सकेको छैन। आफ्नो पहिलो सहभागितामै सन् १९९४ मा प्रिक्वार्टरफाइनलसम्म पुगेको साउदीले त्यसयता १० विश्वकपमा सहभागिता जनाइसकेको छ।
अर्जेन्टिनाको यू–२० टोलीलाई प्रशिक्षण गराइसकेका ४३ वर्षीय प्रशिक्षक स्कालोनीमाथि अहिले समर्थक र त्यहाँको फुटबल संघले भर गरेको छ। सिनियर टोलीमा आफूलाई सक्षम प्रमाणित गराउने चुनौती पनि स्कालोनीलाई छ। मेस्सीलाई पनि आफ्नो अन्तिम इच्छा पूरा गर्ने आधारशिला कतार विश्वकप नै हो। अर्जेन्टिनाले राम्रो प्रदर्शन गर्न सकेको खण्डामा ३६ वर्षपछि उपाधि त जित्ने नै छ, मेस्सीलाई पनि म्याराडोना जतिकै सफल खेलाडीको रूपमा उभ्याउने मौका पनि हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
