कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारको मनोनयनको दिन, फागुन १३ गते बिहान मात्र आफ्नो पार्टीले राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्ने बताए।
काठमाडौँ– नेपाली कांग्रेसले बिहीबार कार्यसम्पादन समितिको बैठक राखेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने नेताहरूले बुधबार नै जानकारी गराएका थिए। कांग्रेसले बिहीबार राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने संकेत पाएपछि कांग्रेसका पदाधिकारीहरूसँग बुधबार राति बालुवाटारमा गरेको छलफलका क्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउनेबारे आफ्नो पार्टीबाट औपचारिक निर्णय हुने बताएका थिए।
बुधबार रातिको त्यो छलफलपछि निर्वाचनअघिको गठबन्धन ब्युँताउने समझदारी बनेको नेताहरूको दाबी थियो।
तर, बिहीबार दिनभरजसो कांग्रेसका नेताहरूले आन्तरिक छलफल गरे। माओवादीका नेताहरूसँग पनि छलफल गरे। तर, कांग्रेसको औपचारिक बैठक बसेन। बैठक नै बस्न नसकेपछि उम्मेदवारको टुंगो लाग्ने कुरा पनि भएन।
कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार रूपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा चर्चा भइरहेको छ। पछिल्लो समय भने त्यसमा सभापति शेरबहादुर देउवाको समेत नाम थपिएको छ। तर, कांग्रेसले उम्मेदवार नै टुंगो लगाउन किन सकिरहेको छैन?
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नेताहरू अझै पनि छलफलमा रहेकाले कुनै निष्कर्ष ननिस्किएको बताए। “हाम्रा नेताहरू छलफलमै हुनुहुन्छ। निष्कर्ष केही आएको छैन। हाम्रोमा जे पनि रातारात मात्रै हुने भएकाले अब केही भए राति नै होला,” उनले भने।
बिहीबार दिनभरजसो माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका नेताहरू आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय छलफलमा व्यस्त भए पनि कांग्रेसका नेताहरू त्यसमा पनि सामेल भएनन्। कांग्रेसले बिहीबार बस्ने भनेको कार्यसम्पादन समितिको बैठक पनि बसेन।
कांग्रेसले राष्ट्रपति उम्मेदवार घोषणा गर्न किन नसकेको भन्ने प्रश्नमा उपसभापति पूर्णबहादुर खड्काले मनोनयनको दिन, फागुन १३ गते बिहान साढे ८ बजे मात्र आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार घोषणा हुने बताए। उनले त्यहीबेलै कार्यसम्पादन समितिको बैठक बस्ने उल्लेख गरे। “कांग्रेसले पर्सि बिहान साढे ८ बजे राष्ट्रपतिको उम्मेदवार घोषणा गर्छ। अरू कुरा अहिले नगरौँ,” खड्काले बिहीबार साँझ उकालोसँग भने।
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार तय गर्नुअघि आफूलाई सघाउने माओवादी केन्द्रको औपचारिक निर्णय पर्खिइरहेको देखिन्छ। उम्मेदवारी घोषणामा ढिलाइको अर्को कारण माओवादीले यसबारे अहिलेसम्म निर्णय नगर्नु पनि हुनसक्छ। १३ गते घोषणा हुने कांग्रेसका उम्मेदवारलाई अरू (माओवादीलगायत) पार्टीले सघाउँछन् त? खड्काले भने, “कांग्रेसले सबैको सहयोगमा आफ्नो पार्टीको उम्मेदवार घोषणा गर्छ।”
निर्वाचन आयोगले फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। खड्काको यो भनाइले कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषय थप पेचिलो बनेको संकेत गर्छ। कांग्रेस संस्थापनपक्षका एक केन्द्रीय सदस्यले यसलाई स्विकार्दै भने, “प्रचण्डले आफूअनुकूल हुनेगरी नेता कृष्ण सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाउन जोड दिनु भएको छ। तर, कांग्रेसमा कि सभापति शेरबहादुर देउवालाई कि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउनुपर्ने कुरा भइरहेको छ। त्यसैले यो विषय अड्किएको हो।”
कांग्रेसले यसअघि राष्ट्रपति आफ्नो पार्टीबाट हुनुपर्ने र प्रधानमन्त्रीमा कार्यकाल बाँडे पनि शुरुमा आफ्नै पार्टीबाट प्रधानमन्त्री बन्नुपर्ने अडान लिएपछि तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको थियो। त्यही अडानपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका थिए। माओवादीले त्यसबेला एमालेलाई राष्ट्रपतिमा सघाउन सहमति जनाएपछि दाहाल प्रधानमन्त्री बनेका थिए। तर, पछि प्रधानमन्त्री दाहाललाई आवश्यक नै नपर्ने विश्वासको मत दिएर कांग्रेसले दाहाललाई आफूनजिक ल्याउने प्रयास थालेको थियो।
राष्ट्रपतिमा बाजी मारेर वर्तमान सत्ता गठबन्धन पनि भत्काउने उद्देश्यसहित कांग्रेसले यो बीचमा दाहाललाई फकाउने प्रयास गरिरहेको छ। कांग्रेस र माओवादी केन्द्र नजिकिए पनि राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुनुभन्दा दुई दिन अघिसम्म कांग्रेसले उम्मेदवार तय गर्न नसक्दा विभिन्न अड्कलबाजी पनि भइरहेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र एकीकृत समाजवादीसँग एकता गर्ने तयारीसमेत अघि बढाएपछि कांग्रेस र माओवादी झस्किएका थिए। एकीकृत समाजवादीलाई आफ्नो गठबन्धनमा सामेल गर्न जोडबल गरिरहेका कांग्रेस र माओवादी नेपालले पनि राष्ट्रपतिमा दाबी गरेपछि अप्ठेरोमा छन्। कांग्रेसले उम्मेदवार घोषणा गर्न ढिलाइ गर्नुमा यसलाई पनि कारण मानिएको छ।
राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा सहभागी माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू राष्ट्रिय सहमति कायम गर्ने विषयमा केन्द्रित रहेको बताए। “राष्ट्रपतिको मामिलामा हामीले चाँडो भन्दा चाँडो निर्णय लिने गरी छलफल अघि बढाएका छौँ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
