काठमाडौँ महानगर थाल्यो फोहोरबाट कम्पोस्ट मल बनाउन

वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोस्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।

भीमसेन गोला क्षेत्रमा जम्मा भएको फोहोर संकलन गर्दै महानगरको सरसफाइ टोली। तस्वीर : रासस

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा बिहीबारदेखि कम्पोस्ट मल बनाउने काम शुरू गरेको छ। परीक्षणका रूपमा टेकुबाट शुरू गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहोर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया शुरू गर्ने तयारी रहेको महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।

बिहीबार टेकुमा १२ टन कुहिने फोहोरबाट मल बनाउने काम शुरू गरिएको  हो। कम्पोस्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ। यसअघि महानगरले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो। एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि महानगरले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया शुरू गरेको जनाएको छ।

“सबै फोहोर एकै स्थानमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यालयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहरको जिम्मा लिएर कम्पोस्ट मल बनाउन थाल्नुपर्छ। यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ”, उनले भने।

उनका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोस्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ। त्यसका लागि महानगरले फोहोर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ। आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहोरबाट मल बनाउने कामको थालनी हुने भनाइ महानगरको छ। योसँगै महानगरका३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने महानगरको तयारी रहेको छ। त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा महानगरले नागरिकलाई वितरण गरिरहेको छ।

महानगरले गत साउन एक गतेदेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहोर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ। महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुन सकेको छैन।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।

विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ। ऐनमा फोहोरलाई स्रोतमै छुटाउने दायित्व उत्पादकको हुने व्यवस्था छ। महानगरको कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन। पछिल्लो समय उत्पादन हुने फोहोरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहोरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने महानगरले विश्वास लिएको छ।

फोहोरको वर्गीकरणबिनै सबै फोहोर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिना दिनसम्म काठमाडौँ उपत्यकाको फोहोर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ।