रामोसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका रामोसले २३ गोल गरेका छन्।

काठमाडौँ– स्पेनका पूर्वकप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का ३६ वर्षीय  डिफेन्डर रामोसले बिहीबार सामाजिक सन्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्। स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका रामोसले २३ गोल गरेका छन्। प्रशिक्षक लुइस डे ला फुएन्टेसँग टेलिफोन वार्ता गरेपछि आफूले सन्यास लिने निर्णय गरेको रामोसले बताएका छन्। 

उनी कतार विश्वकप टोलीमा नअटाएका उनले सन् २०२१ मार्चदेखि स्पेनका लागि खेलेका छैनन्। स्पेनले सन् २०१० को विश्वकप तथा सन् २००८ र २०१२ को युरोकप जित्दा रामोस टिममा थिए। उनले सन् २००५ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

सन्यास घोषणाा गर्दै रामोसले खेलाडीका लागि जवान वा कम जवान हुनु गुण र दोष नभएको बताएका छन्। “मलाई लाग्छ कि मेरो प्रदर्शन हाम्रो राष्ट्रिय टोलीको स्तरमा पुग्न सकेन, तर उमेर वा अन्य कारणले गर्दा होइन,” उनले भनेका छन्, “फुटबल सधैँ निष्पक्ष हुँदैन र फुटबल कहिल्यै फुटबलको बारेमा मात्र हुँदैन।”