रुस-युक्रेन युद्धको एक वर्षमा रुसले युक्रेनका खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्कलाई नियन्त्रणमा लिएको छ भने युक्रेनमा मानवीय संकट चुलिँदो छ।
शुक्रबार रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको एक वर्ष पूरा भएको छ। ठूलो जनधनको क्षतिसँगै निरन्तर युद्धमा रहेका यी दुई देशबीचको तनाव एकवर्षमा कम हुनुको साटो झनै बढेको तथा जटिलतातर्फ धकेलिएको देखिन्छ। शान्ति वार्ताका सबै प्रयास विफल भइरहेका छन् भने युद्धविरामका वा आत्मसमर्पणको कुनै सम्भावना देखिँदैन। त्यस्तै, दुई देशबीचको तनावले विश्वव्यापी अस्थिरता र खिचातानी बढेको देखिएको छ।
विश्वभर खासगरी दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, इन्धनलगायतका सामग्री महँगिएका छन्।
युद्ध शुरू भएको वर्षदिन पुगेको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युद्धमा मृत्युवरण गरेका सबैको सम्झनामा श्रद्धाञ्जलि व्यक्त गरेका छन्। एक भावुक सन्देशमार्फत जेलेन्स्कीले युक्रेनमा भइरहेको ‘हत्या, यातना र त्रासदी’का लागि मस्को जिम्मेवार रहेको बताए। त्यस्तै, उनले युद्धमा युक्रेन विजयी हुने कुरासमेत दोहोर्याए।
यता, रुसले युद्ध वार्षिकीको अघिल्लो दिन अर्थात् फेब्रुअरी २३ लाई ‘डिफेन्डर अफ द फादरल्यान्ड डे’ उत्सवका रूपमा मनाएको छ। सो अवसरमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यस वर्ष मस्कोको उद्देश्य आणविक तथा सैन्य हतियारको विकास गर्नु रहेको घोषणा गरे।
रुसले शुक्रबार पनि युक्रेनमा आक्रमण गर्ने अनुमान गरिएको युक्रेनी सैन्य गुप्तचर प्रमुख किर्येलो बुडानोभको भनाइ छ।
सन् २०२२ फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमा आक्रमण गरेयता युद्ध जारी छ। युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन नेटोमा आबद्ध हुन चाहेको, युरोपियन युनियनको सदस्य बन्न खोजेको, सीमा क्षेत्रमा नेटो सेना परिचालन गरेको र अमेरिकासँग मिलेर रुसलाई चुनौती दिएको लगायत कारण देखाउँदै रुसले एक वर्षअघि आजकै दिन युक्रेनमाथि आक्रमण गरेको हो। अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद रुसले युक्रेनमाथि आक्रमण गरेको थियो।
युद्धरत एक वर्षमा रुसले युक्रेनी भूमि खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्कलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणपछि ती क्षेत्रमा बाक्लोरूपमा रुसी सेना परिचालन गरिएको छ भने जनतालाई रुसी नागरिकका रूपमा बस्न भनिएको छ। त्यसो गर्न नमान्नेहरूलाई रुसी सेनाले तारो बनाउने गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एक वर्ष लामो युद्धका क्रममा दुवै पक्षले अपूरणीय क्षति भोगेको र मानवीय संकट चुलिएको राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालयको भनाइ छ। कार्यालयको फेब्रुअरी १५ प्रकाशित क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाअनुसार युरोपमा मात्रै ७० लाख ९८ हजार युक्रेनी शरणार्थी छन्।
राष्ट्रसंघीय मानवअधिकार आयोग (ओएचसीएचआर)को सन् २०२३ फेब्रुअरी १२ सम्मको तथ्यांकअनुसार युक्रेनमा अहिलेसम्म ४३८ बालबालिकासहित ७ हजार १९९ जना सर्वसाधारणको मृत्यु भएको छ। तर, वास्तविक संख्या अझै बढी हुनसक्ने ओएचसीएचआरको भनाइ छ। यस्तै, युद्धका क्रममा ११ हजार ७५६ जना घाइते भएका छन्।
जारी युद्धमा हालसम्म ६० हजार रुसी सैनिक मारिएको बेलायतलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको छ। मस्कोले युक्रेनी सीमा क्षेत्रमा असुरक्षाकाबीच सैनिकहरूलाई आत्मघाती लडाइँमा पठाएका कारण घाइतेभन्दा मृतकको संख्या बढी भएको बेलायतको दाबी छ। साथै, युद्धमा मारिने र घाइते रुसी सैनिक र सर्वसाधारणको संख्या २ लाख नाघेको बेलायती रक्षा मन्त्रालय र अमेरिकी अधिकारीहरूको दाबी छ। युक्रेनी सैनिकले भने युद्धका क्रममा १ लाख ३७ हजार ७८० रुसी सैनिक मारिएको दाबी गरेको छ। रुसले युक्रेनमा आक्रमणको शृंखला जारी राखेकै बेला यो तथ्यांक सार्वजनिक भएको हो। साथै, युद्ध जारी नै रहेकाले यो संख्या आगामी साताहरूमा बढ्ने उनीहरूको भनाइ छ।
यता, युद्धका क्रममा सन् २०२२ को नोभेम्बरसम्म एक लाख रुसी र एक लाख युक्रेनी सैनिक मारिएको बीबीसीले लेखेको थियो। अमेरिकी संयुक्त कर्मचारी प्रमुख जेन मार्क मिलीले युद्धका क्रममा ४० हजार सर्वसाधारण मारिएको बताएका थिए।
रुस युक्रेन युद्धका कारण लाखौँ विस्थापित भएका छन् भने मानवीय संकट बढिरहेको छ। युद्ध शुरू भएयता अधिकांश युक्रेनी जनता भागेर छिमेकी मुलुक पोल्यान्ड, हंगेरी, रोमानिया, स्लोभाकिया, मोल्दोभासहित अन्य देश पुगेका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को तथ्यांकअनुसार युक्रेन भित्र र बाहिर गरी डेढ करोड मानिस विस्थापित भएका छन्। तीमध्ये ८० लाखभन्दा बढी देश बाहिर विस्थापित भएको बताइएको छ। जसमा सबैभन्दा बढी ५४ लाख मानिस शरणार्थीका रूपमा पोल्यान्ड गएका छन्। त्यस्तै, १२ लाख युक्रेनी हंगेरी र १० लाख रोमानिया पुगेका छन्। युक्रेनमा अहिले १ करोड ७० लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको युएनएचसीआरको भनाइ छ। राष्ट्रसंघीय बालकोष युनिसेफले युक्रेनभित्र २५ लाख बालबालिका विस्थापित भएको र ५० लाख बालबालिका शिक्षाबाट वञ्चित भएको जनाएको छ।
युद्ध शुरू भएयता युक्रेनमा कूल १३८ अर्ब अमेरिकी डलर बराबरका भौतिक संरचनाको नोक्सानी बेहोर्नुपरेको स्टेटिस्टाको रिसर्चको तथ्यांक छ। सार्वजनिक रूपमा प्राप्त प्रमाणका आधार सन् २०२२ को डिसेम्बरसम्म ५४ अर्ब डलरका संरचनामा क्षति पुगेको र यसबाहेका थप ३५ अर्ब डलरभन्दा बढीको नोक्सानी पुगेको बताइएको छ।
यता, युद्ध अन्त्य गर्न वार्ताको प्रयास पनि भइरहेको छ। तर, सम्झौताको पक्षमा दुवै मुलुक देखिएका छैनन्। रुसले भने आफूले शान्तिपूर्ण समाधान खोजेको भएपनि पश्चिमा देशको आरोप प्रत्यारोप र झुटा प्रचारले युद्ध बल्झिएको बताउँदै आएको छ।
रुसको मित्रराष्ट्र चीनले पनि युक्रेनको सार्वभौमिकताको रक्षा र सुरक्षामा आफू केन्द्रित रहेको बताएको छ। यस्तै, गतसाता जर्मनीको म्युनिखमा सम्पन्न युरोपेली सुरक्षा सम्मेलनमा सहभागी पश्चिमा शक्तिराष्ट्रहरूले पनि युक्रेन युद्धको शान्तिपूर्ण समाधानमा जोड दिएका छन्।
जारी युद्धमा युक्रेनलाई सैन्य सहयोग गरिरहेका जर्मनी, फ्रान्स र अमेरिकाले अब त्यहाँ ठूला हतियार, विशेष गरी विमानजस्ता नयाँ हतियार प्रणाली पठाउन रोक्ने बताएका छन्।
युक्रेनमा सम्झौताका माध्यमले युद्ध अन्त्यको प्रयासमा लागीपर्ने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको भनाइ थियो।
तर, युद्धबाट पछि नहट्ने अडानमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसलाई हराएर मात्र शान्ति कायम हुने भन्दै थप हतियार पठाउन युरोपेली देशहरूलाई आग्रह गरिरहेका छन्। युक्रेनको जितको विकल्प छैन। जेलेन्स्कीले, "युरोपेली युनियनमा युक्रेन हुनुपर्ने बाहेक अर्को विकल्प छैन। नेटोमा युक्रेन हुनुको विकल्प छैन। रुसको आक्रोश पूर्णरूपमा शान्त पार्ने यसबाहेक अन्य कुनै विकल्प छैन र हुनुहुँदैन," उनले भनेका छन्।
यता, युद्ध बिस्तारका लागि रुसलाई उत्तेजक नबनाउन अमेरिका र युरोपेली शक्ति राष्ट्रहरूले युक्रेनलाई सैन्य सहयोग उपलब्ध गराउने विषयलाई सन्तुलनमै राखिरहेको वाल स्ट्रिट जर्नलले लेखेको छ।
अमेरिकी उपविदेशमन्त्री एवं वरिष्ठ कूटनीतिज्ञ भिक्टोरिया नुल्यान्ड भन्छिन्, “सन् २०१४ मा रुसले नियन्त्रणमा लिएको युक्रेनी भूभाग क्रिमिया जहाँ रुसले प्रमुख जल शिविरका रूपमा प्रयोग गरिरहेको छ। त्यहाँ निःशस्त्रीकरण आवश्यक छ। क्रिमियाबारे युक्रेनी जनताले के निर्णय लिन्छन् र कसरी लड्छन् त्यो बेग्लै कुरा हो। तर क्रिमिया न्यूनतम रूपमा निःशस्त्रीकरण नभएसम्म युक्रेनी जनता सुरक्षित हुने छैनन्।”
नुल्यान्डको क्रिमियाबारेको धारणाले द्वन्द्वमा वासिंटनको सहभागिता र युक्रेनका आक्रामक क्रियाकलापलाई बढवा दिएको मस्कोले जनाएको छ।
किभ रुसले कब्जा गरेका क्रिमियासहित सबै भूभाग फिर्ता ल्याउन चाहन्छ। यो कुरा सुरक्षा सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिले भनिसकेका छन्। तर, यसबारे पश्चिमा अधिकारीले भने मिश्रित प्रतिक्रिया दिएका छन्।
गत डिसेम्बरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए, “रुसले कब्जा गरेका युक्रेनी भू-भाग फिर्ता ल्याउने विषयमा वासिंटनले युक्रेनलाई सहयोग गर्नेछ।”
पश्चिमा शक्ति राष्ट्रलक्षित अभिव्यक्ति दिँदै रुसी रक्षा मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन्, “उनीहरू ठूलो परिमाणमा हतियार उपलब्ध गराउने, गुप्तचर खटाउने र सैन्य कारबाहीका योजनामा समेत सहभागी हुने गरेका छन्।” -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
