रेमिट्यान्सको रकम बैंक खातामा जम्मा गर्दा थप ब्याज

वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बचत तथा मुद्दती निक्षेप खातामा राखे बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ प्रतिशत थप गरी ब्याजदर प्रदान गर्नुपर्ने छ।

काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको रकम बैंकमा जम्मा गरे थप ब्याज पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशनअनुसार विप्रेषण (रेमिट्यान्स) बचत खातामा निक्षेप राखेको रकममा थप ब्याज पाइने भएको हो।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा खोलिएको वा खोलिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा निक्षेप राखेमा, सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा १ प्रतिशतबिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्ने’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

राष्ट्र बैंकको यस निर्देशनअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको रकम, उनीहरूका परिवारले बचत तथा मुद्दती निक्षेप खातामा राखे बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ प्रतिशत थप गरी ब्याजदर प्रदान गर्नुपर्ने छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ प्रणालीबाट रकम पठाउन प्रोत्साहन गर्न सरोकारवालाबाट माग भइरहेका बेला राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार निर्देशन जारी गर्दै ब्याज थपको व्यवस्था गरेको हो।

कार्यकारी निर्देशक डा. गुणाकर भट्टले हस्ताक्षर गरेको पत्रमा राष्ट्र बैंकबाट इजाजत प्राप्त, ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ मा परिमार्जन, संशोधन तथा थप गरेर निर्देशन जारी गरिएको जनाइएको छ।

त्यस्तै ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा लाग्ने पेनाल ब्याज नलिन पनि निर्देशन दिइएको छ। २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा पेनाल ब्याज लिन नपाइने भएको छ। छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पेनाल ब्याज लिन राष्ट्र बैंकले नरोक्ने जनाएको छ।

यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागू हुने भनिएको छ। ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन रोक नलाग्ने निर्देशनमा उल्लेख छ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने सहुलीयत शुक्रबार जारी निर्देशनले प्रदान गरेको छ। जसअनुसार दुई करोड रुपैयाँसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एकपटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी शर्तको अधीनमा रही कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिनेछ।

आकस्मिक बिदाका दिन पनि सेवा
सरकारले दिने आकस्मिक बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्थाको सेवा चालु नै रहने भएको छ। राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन बिहान १०ः०० देखि दिउसो १ः३० बजेसम्मको समयमा अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

आवश्यक विभाग तथा कार्यालय खुला राखी नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत सेवा सञ्चालन गर्ने व्यवस्था इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ।