पुरुष सत्ताले दिएको शिक्षा- केटीहरूको काम नै केटा फसाउने!

जैविक रूपमा महिला भए पनि पुरुष सत्ताले दिएको शिक्षा, चिन्तन, संस्कृति र दर्शनले महिलालाई पनि पुरुषजस्तै बनाउने चेष्टा गरेको छ। स्वयं महिलामा समेत ‘आइमाईको बुद्धि हुन्न’ भन्ने तथ्य लाद्न सफल छ।

केही पहिले मोबाइल हेर्दै गर्दा युट्युबमा एउटा अन्तर्वार्तासँग ठोक्किन पुगेँ। पूर्वतिरका एक जना पुराना वामपन्थी नेता भन्दै थिए, "शहरबजारमा अचेल केटाहरूलाई फसाउने केटीहरूका ग्याङ नै सक्रिय रहेछन्। उनीहरूको ठूलै नेटवर्क छ भन्ने सुन्दैछु।" उमेरले ७० कटेका ती जनले यस्तो कुरो कुन अध्ययन र अनुसन्धानबाट पत्ता लगाए, म जान्दिनँ। तर, उनको निचोडले हाम्रो समाजमा चल्ने गरेको उही परम्परागत तर्क र भाष्यतर्फ संकेत गर्थ्यो- केटीहरू आफ्नो रूप या बैँसलाई पासो बनाएर केटाहरूलाई फसाउँछन् र तिनको पैसामा मोज गर्छन्।

यस्ता भाष्यहरूले केटीहरूलाई 'परम्परागत रूपमा नै केटा फसाउने पेशा सञ्चालन गर्ने पेशेवर’ ठान्दछ। आफ्नो रूप र जवानीमा लट्ठ्याएर कसैलाई फसाइने धन्दालाई अंग्रेजीमा 'हनिट्र्याप' भनिन्छ। खासगरी युवतीले आफ्नो मोहनी–रूप या बैँसमा कुनै पुरुषलाई फसाएर आफ्नो निहित उद्देश्य पूर्तिका लागि फसाउने ‘पासो धन्दा’ कहीँकतै चलेको छ। विश्व–राजनीतिक इतिहासको अध्ययन गर्ने हो भने हनिट्रयापमार्फत ठूला नेता, प्रशासक र सैनिक नेतृत्वहरूका गोप्य कुरा खुलाइएका छन्। कतिपय नेताको हत्या गराइएको छ। युद्धमा युवतीहरूलाई प्रयोग गरेर नतिजा आफ्नो पक्षमा पार्न प्रयास गरिएका छन्।

समाज आफैँमा जटिल संरचना हो। मानव शरीर अर्को जटिल संरचना हो। ब्रह्माण्ड आफैँमा त्यस्तो रचना हो, त्यसका रहस्यहरू आम मान्छेका दिमागमा सहजै घुस्दैन। तर, विज्ञान र समाज विज्ञानले जीव, प्रकृति, ब्रह्माण्ड तथा समाजका कतिपय रहस्यहरू अहिले पर्दाफास भइसकेका छन्। पहिले नसुल्झेका धेरै पहेलीहरू खोज अनुसन्धानमार्फत पत्ता लगाइसकिएका छन्। त्यसो हुँदा मान्छे र समाजमा पनि अनेकौँ रोचक कुरा छन्। अनेकौँ समस्या र समस्याग्रस्त धारणाहरू पनि। ‘केटीहरूले पुरुषलाई फसाउँछन्’ भन्ने धारणा पनि तिनै समस्याग्रस्त धारणाहरूमध्ये एक हो। 

आमरूपमा केटीहरू केटा फसाउन जन्मिएका होइनन्। केही एकाध घटना होलान्, जहाँ अनेक समस्या या अति महत्वाकांक्षाका कारण कतिपय महिलाले आफ्नो रूप र यौवनको जालोमा पारेर पुरुषको सम्पत्ति र यौवन हात पारे। तर, कुनै केटी पाउनकै लागि अनेकौँ नाटक र तमासा गर्नेदेखि ‘फलानोसँग बिहे गर्न पाइनँ भने मै मर्छु या त्यसलाई मार्छु’ भन्ने पुरुषका कथा पनि हाम्रा समाजमा टन्नै सुनिन्छन्। हाम्रो मात्र होइन, विश्व समाज आज पनि पुरुषप्रधान हो। त्यसो हुँदा अहिलेसम्म शक्ति संरचनाको शिखरमा पुरुष नै भएका हुनाले षड्यन्त्र गर्ने या कसैलाई फसाउने सन्दर्भमा तुलनात्मक रूपमा पुरुष नै अघि छन्। हत्या, हिंसा, अपराध र षड्यन्त्रका देशी, विदेशी या सरकारी र गैरसरकारी तथ्यांकहरू हेर्दा त्यो कुरा सहजै पुष्टि हुन्छ।  

‘केटीले फसाउँछन्’ भन्ने परम्परागत, पुरुषवादी तथा बलशाली भाष्यका उदाहरणहरू समाजमा बग्रेल्ती छन्। क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको यौन हिंसाको आरोपको उदाहरण नै हेरौँ। जसले लामिछानेलाई यौन हिंसाको आरोप लगाइन्, उनलाई सामाजिक सञ्जालमा ‘क्रिकेट स्टारको लोकप्रियतालाई गिराउने षड्यन्त्र गरेको’ आरोप छ। त्यस्तो अभिव्यक्तिलाई सन्तोष पन्त, राजाराम पौडेल तथा अधिवक्ता वालकृष्ण न्यौपानेलगायतका केही सार्वजनिक अनुहारहरूले साथ दिएका छन्।

केही महिना पहिले कबड्डी–४ की नायिका मिरुना मगरमाथि सार्वजनिक ठाउँमा भएको यौन उत्पीडनका सन्दर्भमा पनि धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले मिरुनालाई नै आरोपित गर्ने प्रयास गरे। उतिखेर आमरूपमा बाहिर आएको तथ्य थियो कि, कोही सर्वसाधारण युवाले मिरुनाको इच्छा विपरीत उनको शरीरलाई सार्वजनिक स्थानमा बारम्बार छोएको थियो। 

मिरुनाका अनुसार, उनलाई असह्य भएपछि त्यस युवकलाई थप्पड हानेकी थिइन्। त्यसपछि त्यस मुद्दालाई प्रहरीमा पुर्‍याइयो। युवकले सहजै माफी माग्यो र सम्भवतः उतिखेर फिल्मको व्यापारमा असर पर्ने भएका कारण तथा थप लफडा झेल्न गार्‍हो हुने देखेपछि मिरुनाले पनि सो मामलालाई यत्तिकै टुंग्याउन चाहिन्। पीडित भनिएकी मिरुना या उनको फिल्म टिमकै आग्रहमा सम्भवतः प्रहरीले यो केसलाई उत्तिकै छाडिदियो। पीडक भनिएका युवा हिरासतबाट मुक्त भए। तर, युवाले माफी मागिसक्दा पनि हाम्रो समाज पटक्कै रोकिएन। 

‘पक्कै पनि मिरुनाले त्यस युवालाई फसाएको हुनुपर्छ,’ ‘फिल्मको प्रचारका लागि मिरुनाले त्यस्तो हर्कत गरेकी हुनसक्छ,’ ‘एउटा फिल्म खेल्दैमा के सारो मात्तिएकी त्यो केटी?’ लगायतका टिप्पणीहरू समाज र सामाजिक सञ्जालमा आइरहे। अहिले पनि यदाकदा त्यस्ता टिप्पणी सुन्न र पढ्न पाइन्छ। करणीको आरोप लागेर पछिल्लो पटक अदालतबाट यौन दुराचारी प्रमाणित भएका फिल्म– कलाकार पल शाह प्रकरणका सन्दर्भमा पनि त्यस्तै खालका टिप्पणीहरू पर्याप्त सुन्न पाइयो कि ‘युवतीले हिरोको हिरोगिरी र सम्पत्ति देखेर उसलाई फसाइ।’

तर, ख्याल गर्नुपर्ने कुरा यो छ कि आजको मल्टिमिडिया र इन्टरनेटले जेलिएको समाजमा पल शाहको जत्तिको चर्चा पाउने कुरा आम मान्छेलाई समेत उपलब्ध छ। स्वयं पीडित भनिएकी किशोरी आफैँमा सेलिब्रिटी हुन्। उनी राम्रो कमाइ गरिरहेकी र भोलिका दिनमा अझै नाम तथा पैसा कमाउन सक्ने सम्भावना बोकेकी गायिका हुन्।

सम्भवतः आमरूपमा भनिएजस्तो पैसाकै लागि उनले ‘यौनहिंसा’जस्तो संवेदनशील विषयलाई बाहिर ल्याएकी होइनन्। किनकि, यौन हिंसाको कुरा बाहिर ल्याउनका लागि हाम्रोजस्तो ‘भिक्टिम ब्लेमिङ’ समाजमा महिलाका लागि ठूलो हिम्मत र साहस चाहिन्छ। स्त्रीको यौनको विषयलाई परिवारले ‘इज्जत र आत्मसम्मान’को विषय बनाउने भएकाले आफूमाथि यौनहिंसा भएकै अवस्थामा समेत त्यस विषयलाई बाहिर ल्याउनकै लागि महिलाले ठूलो हिम्मत गर्नुपर्छ। यौन हिंसाका घटना बाहिर ल्याउनेबित्तिकै समाजले ‘त्यो केटी नै उस्तो’ भन्दै पीडितलाई नै आरोपित गर्छ। 

हामीलाई पनि थाहा छ, हाम्रो समाज मात्रै होइन, सिंगो संसार नै आमरूपमा पीडितमाथि नै प्रश्न उठाउने समाज हो। ‘तैँले किन उति नै खेर सबै कुरा बाहिर आएर भनिनस्?’, ‘उतिखेर मजा लिइस्, पछि आएर आरोप लगाइस्, होइन?’, ‘मन मिलुन्जेल चमत्कार, मन नमिलेपछि बलात्कार!’, ‘यो सबै लोकप्रियताका लागि त्यसले गरेको नाटक हो’, ‘त्यो केटी के राम्री छ र उसले त्यसलाई बलात्कार गरोस्?’ ‘चान्स पाउँदा केटाले त डान्स गरिहाल्छ नि’ जस्ता टिप्पणी गर्ने समाजले यौन हिंसाको जटिलता बुझ्न सक्दैन।

महिलाभन्दा धेरै कोणबाट विशेषाधिकार ‘इन्जोय’ गरेका पुरुषले महिला हिंसाका जटिलता नबुझ्नु स्वाभाविक हो। तर, पितृसत्ताबाट प्रशिक्षित महिलाहरूले समेत यस्ता विषयहरूको संवेदनशीलतालाई महसुस गर्न सकेका छैनन्। 

जैविक रूपमा महिला नै भए पनि पुरुष सत्ताले दिएका शिक्षा, चिन्तन, संस्कृति र दर्शनले महिलालाई पनि पुरुषजस्तै बनाउने चेष्टा गरेको छ। स्वयं महिलामा समेत ‘आइमाईको बुद्धि हुन्न’ भन्ने तथ्य लाद्न सफल छ। ‘महिलाहरू दुःख पाउनकै लागि जन्मेका हुन्। महिलाले सधैँ डराउनुपर्छ। महिला रातविरात हिँड्नुहुन्न। महिलाले कतै हिँड्नुपर्दा एउटा भरपर्दो पुरुष साथी (लोग्ने, दाजुभाइ या बाउ) लिएर हिँड्नुपर्छ। महिलाले सधैँ जोगिनुपर्छ। अरूले गल्ती गरे पनि दोष महिलाले भोग्नु स्वाभाविक हो’ भन्ने खालका भाष्यहरू पहिलेभन्दा घटेका छन्, हटेका छैनन्।

सोही कारण हरेक समाजलाई लाग्छ, ‘केटीहरू जतासुकै समस्या पार्छन्, तिनले केटालाई पासो थाप्छन्।’ मानौँ कि केटी भनेका जन्मजातै त्यस्ता षड्यन्त्रकारी हुन् र कता शिकार पाइन्छ भन्दै ती हिँडिरहेका हुन्छन्।’ तर अर्को सत्य के हो भने, कमजोरहरू सधैँ कमजोर रहन चाहँदैनन्। कमजोर वर्गलाई पनि धन, सम्पत्ति र सत्ताको रहर हुन्छ। त्यसो हुँदा, यदाकदा हजारौँ वर्षयता आर्थिक, सामाजिक र धार्मिक रूपमा पेलानमा परेका अर्बौं महिलाहरूमध्ये केहीले धनसम्पत्ति प्राप्त गर्नका लागि ‘अनुचित’ उपाय अपनाए पनि होलान्। तर, एकाध घटनाहरूले बहुसंख्यक महिलाको प्रतिनिधित्व गर्दैन। अर्को कटु सत्य के हो भने, युगौँदेखि परिवार, समाज, धर्म, शिक्षा र शासनसत्तामा पुरुष सत्ता हाबी भएका कारण आज पनि सम्पत्ति, सामाजिक व्याख्या र सत्ताका आधारमा पुरुष नै मालिक नै हो, उ नै सत्ता र सम्पत्तिको हर्ताकर्ता हो। 

इतिहासमा र आज पनि महिलाहरू पुरुष ज्यादतीको शिकार भएका छन्। अर्थात्, सदियौँदेखि अवसर, अर्थ र ज्ञानबाट समेत वञ्चित पारिएका महिलालाई आमरूपमा पुरुषले नै पासोमा पार्ने र फसाउने, अल्झाउने र रुवाउने काम गरेका छन्। महिलाले त्यतिखेर मात्र पुरुषलाई आमरूपमा फसाउन सक्लान्, जतिखेर आर्थिक, सामाजिक, धार्मिक र शासकीय रूपबाट पनि समाज र सर्वत्र महिलाको हैसियत समान हुनेछ। शक्ति संरचनामा कमजोर महिलाले पुरुषलाई फसाउने कुरा सम्भव नै हुन्न। फसाइए पनि ती एकाध अपवाद हुन्। समाजशास्त्रले पनि त्यही भन्छ। अन्त जानै पर्दैन, महिला बेचबिखन, यौनजन्य अपराध र कोरा अपराधकै घट्नाका प्रहरी विवरणहरू एकपल्ट पल्टाएर हेर्नुस् त।