कार्यविधि नबन्दा सञ्चालनमा आएन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

माथिबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा देखिने गरी बनाइएको सम्मेलन केन्द्रमा एक हजार क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। सबै हलमा एक पटकमा दुई हजार ९०० जना अटाउन सक्ने क्षमता छ।

लुम्बिनी– बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन। सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि आवश्यक कानुन नबन्दा सञ्चालन प्रक्रिया अन्योलमा परेको हो। 

बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए। 

सञ्चालन समिति गठन गर्ने र समितिले सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पठाइएको बताए। “सरकारले आफैँ सञ्चालनको जिम्मा लिँदा व्यवस्थापन समस्या देखिने भएकाले निजी क्षेत्रलाई लिजमा दिने तयारी छ,” उनले भने, “सायद कार्यविधि छिट्टै स्वीकृत भएर आउँछ।”

विकास समिति ऐनअन्तर्गत सम्मेलन केन्द्र सञ्चालन समिति गठन गरेपछि त्यसले भाडामा दिन सक्ने व्यवस्थाअनुसार अघि बढ्ने उनको भनाइ छ। समितिमा तीन तहकै सरकारका प्रतिनिधि रहने व्यवस्था छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको दीर्घकालीन योजना निर्माणका लागि विभागका उपमहानिर्देशक प्रकिरण तुलाधरको संयोजकत्वमा कार्यदल बनाइएको र त्यसको रिपोर्ट आएपछि मात्र सञ्चालन ढाँचा तय हुने सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले बताए। “व्यावसायिक हिसाबले कुन ढाँचामा सञ्चालन गर्न उपयुक्त हुन्छ भनेर योजना बनाउने गरी काम भइरहेको छ,” प्रवक्ता परियारले भने, “बारम्बार समस्या आउनुभन्दा सञ्चालनमा दिगोपना रहने गरी योजना बनाउने हो त्यसैले अध्ययन रिपोर्ट कुरेका छौँ।” 

हल भाडामा लिन चाहनेहरू धेरै भए पनि कार्यविधिका कारण सेवा दिन नसकिएको आयोजना प्रमुख पन्थीले बताए।  असारसम्म निर्माण कम्पनीले नै रेखदेख र सरसफाइ गर्ने सम्झौता छ। यो काठमाडौँ बाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो। एक अर्ब ११ करोड रुपैयाँ लागतमा भवन निर्माण विभागले सो केन्द्र निर्माण गरेको हो। यसमा मुख्य हल एक हजार सिट क्षमताको छ। 

साढे छ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य र अन्य १२ वटा हल छन्। आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हलमा बाल्कोनी र भुइँतलामा गरी ८७२ वटा कुर्सी जडान गरिएको छ। यस्तै ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र ३०० क्षमताका सेमिनार हल रहेका छन्। साथै ७२ देखि १२६ जना क्षमताका छ वटा बैठक कक्ष, तथा ३५० र ५८६ जना क्षमताका थप दुई वटा हल छन्। सबै हलमा एक पटकमा दुई हजार ९०० जना अटाउन सक्ने क्षमता छ।

अपांगतामैत्री सम्मेलन केन्द्रमा ४०० वटा चारपाङ्ग्रे र ४०० मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङ र हेलिप्याडसमेत बनाइएको छ। बाल उद्यान, चमेनागृह, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी, प्रवेश हुने र बाहिरिने गरी पाँच वटा अलग अलग गेट निर्माण गरिएका छन्। जसमध्ये एउटा भिआइपी गेट छ। प्रत्येक गेटमा सुरक्षा गार्ड घर र टिकट काउन्टर समेत बनाइएको छ।

विद्युत्‌का लागि ६३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ। सम्मेलन केन्द्र आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभा हल अगाडि पोखरी निर्माण गरिएको छ। जमिनमुनिको पानी रिचार्ज गर्न आठ वटा ‘रिचार्ज पिट’ पनि बनाइएको छ।

सम्मेलन केन्द्र सञ्चालनका विषयमा निजी क्षेत्रले जसरी चासो लिनुपर्ने हो, त्यति हुन नसकेको नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले बताए। सरकारी तवरबाट पनि सञ्चालनको कार्यविधि यति लामो समयसम्म बन्न नसक्नु कमजोरी भएको  उन‍को भनाइ छ।