राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। सँगसँगै जस्तो राजनीतिक यात्रा शुरू गरेका दुवै नेताले सभामुखको जिम्मेवारी सम्हालिसकेका छन्।
काठमाडौँ– आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ।
आठ दलको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्। शनिबार बिहान बसेको कांग्रेस र एमालेको बैठकले क्रमशः पौडेल र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई सहयोग गर्ने निर्णयगरेपछि शनिबार बिहान कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्यो भने एमालेले पनि सचिवालय बैठकबाट नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय लिएको हो।
पार्टीले निर्णय गरेपछि नेम्वाङले संसद् भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, आठ दलीय गठबन्धनका तर्फबाट पौडेलले पनि उम्मेदवारी दर्ता गरेका छन्। राष्ट्रपतिका दुवै उम्मेदवार भद्र र शालीन नेताका रूपमा चिनिन्छन्। दुवै उम्मेदवार नेपालको संसदीय राजनीतिका जानकार पात्रका रूपमा चिनिने गर्छन्।
संसदीय राजनीतिक यात्रा एकैसाथ
२०४८ देखि नेपालको संसदीय राजनीतिमा होमिएका यी दुवै उम्मेदवारले संसद्को कार्यकारी पद सभामुख भएर काम गरिसकेका छन्।
पौडेलले ०५१ पुस ३ देखि ०५५ चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुख भएर काम गरेका थिए भने नेम्वाङले ०६५ साउन १२ देखि ०६९ जेठ १४ सम्म पहिलो कार्यालय र दोस्रो कार्यकाल ०७० फागुन ६ देखि ०७२ असोज २७ सम्म सभामुख भएर नेतृत्व गरे। नेम्वाङले दुई वटै संविधानसभामा अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेका छन्। समकक्षीहरू दुवै नेताले नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएको चर्चा गर्छन्।

संसदीय राजनीति एकसाथ शुरू गरे पनि उमेरका हिसाबले हेर्दा पौडेल नेम्वाङभन्दा जेठा हुन्। पौडेलको जन्म २००१ असोज २९ गते तनहुँमा भएको हो। नेम्वाङको जन्म २००९ फागुन २८ गते इलाममा भएको हो।
पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर तह पास गरेका छन् भने नेम्वाङ कानुनका जानकार मानिन्छन्। उनले कानुनी पेसा पनि केही समय गरेका थिए। सक्रिय राजनीति अघि उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भएका थिए।
६ दशक लामो राजनीतिक जीवन बिताइसकेका पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित भएका छन्। ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा भने उनी तत्कालीन एमालेबाट किसान श्रेष्ठसँग पराजित भएका थिए।
नेम्वाङ पनि २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका थिए। २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनमा उनी इलामबाट निर्वाचित भएका छन्।
पौडेलले २०२७ सालमा नेविसंघ हुँदा संस्थापक सदस्य भएर आफ्नो राजनीतिक यात्रा शुरू गरेका थिए। २०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै सत्ता आफ्नो हातमा लिएपछि राजनीतिमा होमिएका पौडेल पटक पटक गरी १४ वर्षभन्दा धेरै जेल जीवन बिताएका थिए।
२०१८ को कांग्रेसको सशस्त्र क्रान्तिमा पनि उनी संलग्न भए। २०३३ सालमा बीपी कोइराला निर्वासनबाट फर्केपछि पौडेलले कोइरालाको नजिक रहेर काम गर्ने मौका पाएका थिए। त्यसैले अहिले पनि आफ्नो राजनीतिक आदर्श कोइराला रहेको बताउने गरेका छन्। पौडेल ०५७ सालमा उपप्रधानसहित गृह तथा सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाए। ०६३ सालमा पौडेल शान्ति तथा पुनःनिर्माणमन्त्री भए।
०६२ सालमा पार्टीको महामन्त्रीसमेत बने। सरकारको नेतृत्व गर्न अर्थात् प्रधानमन्त्री बन्न उनले २०६७ मा प्रधानमन्त्रीका लागि १७ पटक उम्मेदवार बने पनि उनले सफलता प्राप्त गर्न सकेका थिएनन्। ०६५ सालमा पार्टी संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए।
एमालेबाट उम्मेदवारी दिएका नेम्वाङले २०२८ सालबाट राजनीति थालेका हुन्। २०३३ सालमा थुनामा रहेकै बेला उनी कम्युनिस्ट पार्टी कोर्डिनेसन केन्द्रमा आबद्ध भएका थिए। उनी ०२९ सालमै अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए।

०३२ देखि ०६३ सम्म पटक पटक गरी ७ महिना थुनामा परेका थिए। उनी ०५२ मा कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसमेत भएका उनले सार्वजनिक लेखा समितिको सभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन्। उनी अन्तरिम व्यवस्थापिकाको सभामुख पनि भएका थिए। उनले नेपाल ल क्याम्पसमा ०३५ देखि ०५२ सम्म प्राध्यापक भएर पनि सेवा गरेका थिए। उनका संविधान र कानुनसम्बन्धी विभिन्न पुस्तक र लेख रचनाहरू प्रकाशित छन्।
पौडेललाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी नेपाल, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन छ। यता नेम्वाङलाई राप्रपाले समर्थन गर्ने देखिएको छ। रास्वपाले भने अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन।
फागुन २५ गते हुने चुनावमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन्। राष्ट्रपति चुनावमा राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सांसदको प्रतिसदस्य मतभार ७९ हुन्छ। प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ। कुल मतभारको बहुमत ल्याउने उम्मेदवार निर्वाचित भएको मानिने छ। संघीय संसद्का ३३३ सांसदको मतदाता नामावली आयोगले सार्वजनिक गरेको छ।
त्यस्तै, प्रदेशसभा सदस्यतर्फ ५५० जनाको नामावली सार्वजनिक गरेको छ। यी सबै जोड्दा मतदाता संख्या ८८३ हुन आउँछ। यसको कुल मतभार ५२ हजार ७०७ हुन्छ। यसमा बहुमत ल्याउने अर्थात् २६ हजार ३५४ मत ल्याउने उम्मेदवार निर्वाचित हुनेछ। शुक्रबार बनेको नयाँ समीकरणअनुसार आठ दलको मतभार निर्वाचितका लागि आवश्यक मतभारभन्दा धेरै रहेकाले राष्ट्रपतिको उम्मेदवारमा पौडेल निर्वाचित हुने निश्चित देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
