शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने अजेन्डा बनाउनुपर्छ: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए।

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

 शनिबार नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधीको १०१औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामलाई परिणाममा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याएर मुलुकमा सुशासन कायम गर्ने कामलाई अजेन्डाका रूपमा अगाडि बढाउनुपर्ने बताए। “संविधानलाई संस्थागत गर्नु छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु छ”, उनले भने, “मुलुकमा शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याएर, मुलुकमा सुशासन कायम गरेर, मुलुकको उन्नतिलाई अगाडि बढाउन हामीहरूले विशेष रूपमा अहिलेको अजेन्डाका रूपमा यसलाई लिएर जानुपर्छ।“

उनले देशमा लोकतन्त्र आइसकेपछि गाउँ–गाउँमा विकास पुगेको भन्दै ती विकासका कामहरू केही पनि होइनन् भनेर नजरअन्दाज गर्नु नहुने बताए। उनले देशको संविधान र गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उल्लेख गरे।

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए। उनले राष्ट्रवादको नारा खेती गर्ने विषय नभएको धारणा राखे। उनले अलोकतान्त्रिक शक्तिहरूले लोकतन्त्रवादीलाई अराष्ट्रवादी भन्दै आएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। उनले देशको स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई उचो राख्न लोकतन्त्रवादीहरूको योगदान रहेको बताए।

उनले सच्चा प्रजातन्त्रवादीहरू नै राष्ट्रवादी हुने बताए। प्रजातन्त्रवादी नभएको मानिस राष्ट्रवादी भए नभएको विषयमा शंका उत्पन्न हुने उनको भनाइ छ।