प्रधानमन्त्री दाहालले आठ दलबीच भएको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको समझदारी राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन्। शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित 'समसामयिक नेपाली राजनीति र निधिजीको विचार' विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसद्का अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ। यो एक प्रकारले राष्ट्रिय सहमति नै हो।”
लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा अझै नटरेको बताए। उनले फागुन ७ गते संविधानले नचिनेका नारा लागेको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताए। उनले संविधानमाथि अतिक्रमण गर्ने प्रवृत्तिको अन्त्य भई नसकेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने धारणा राखे।
प्रधानमन्त्रीले भने, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ, उभिएका छौँ।”
उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरेको तर एमाले अध्यक्ष ओली नमान्दा आफ्नो प्रस्ताव टुंगोमा नपुगेको बताए। “मैले राष्ट्रिय सहमतिकै लागि कोशिश गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाईं र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन” प्रधानमन्त्रीले भने, “संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्विकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एक ठाउँ उभिएका छौँ। हामी प्राकृतिक कोर्समा फर्किएका छौँ। यो नै मुख्य कुरा हो।”
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शरदसिंह भण्डारी, विमलेन्द्र निधि लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
