विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

मकवानपुर- जिल्लाको कैलाश गाउँपालिका-६ दुम्सीखर्कबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। 

उनीहरूलाई कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउन्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेस १३ केजीसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जित बहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जित बहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार तथा घर नजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।