पेरिस ओलम्पिक : एशियाली छनोटअन्तर्गत महिला फुटबलको समूह 'सी'का खेल नेपालमा

सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्।

काठमाडौँ- सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार विज्ञप्ति प्रकाशित गर्दै आयोजक नेपालसहित भियतनाम र अफगानिस्तानको खेल नेपालमा आयोजना हुने जानकारी दिएको हो।

एन्फाका अनुसार यस समूहबाट प्यालेस्टाइनले नाम फिर्ता लिएको छ। यस समूहका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने एन्फाले जनाएको छ। खेल आगामी अप्रिल ३ देखि ११ सम्म हुने छ। पहिलो खेलमा सबैभन्दा बलियो मानिएको भियतनाम र अफगानिस्तान भिड्ने छन्। दोस्रो खेल घरेलु टोली नेपाल र अफगानिस्तानबीच हुने छ। समूहको अन्तिम तथा तेस्रो खेलमा भियतनाम र नेपाल भिड्ने छन्।

७ समूहका शीर्ष टोलीहरू दोस्रो चरणमा पुग्नेछन्। उनीहरूले सिधै छनोट भएका जापान, अस्ट्रेलिया, चीन, उत्तर कोरिया र दक्षिण कोरियासँग खेल्नेछन्। समूह विजेता ३ टोलीसँगै उपविजेतामध्येका उत्कृष्ट एक गरी ४ टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्। तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन्।