प्रधानमन्त्रीले रोके जेनेभा उड्न लागेकी परराष्ट्रमन्त्रीलाई, मन्त्री भन्छिन्– ‘विडम्बना’

मन्त्री पौड्यालले आफ्नो भ्रमण रोकिएको विषयलाई विडम्बना भएको बताइन्।

काठमाडौँ– परराष्ट्रमन्त्री विमला राई पौड्याल स्विट्जरल्यान्डको जेनेभा जाने कार्यक्रममा प्रधानमन्त्रीले रोक लगाएका छन्। 

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन अहिले बेलुकी ६ बजे जेनेभा जाने तयारीमा रहेकी पौड्यालको भ्रमणमा प्रधानमन्त्रीले रोक लगाएका हुन्। 

“म अहिले बेलुकी ६ बजे जेनेभा जाने तयारीका लागि कार्यालयमै काममा व्यस्त थिएँ। तर, मुख्यसचिवले खबर गरेर तपाईंलाई भ्रमणमा नजान भनेर प्रधानमन्त्रीको निर्देशन छ भनेर खबर गर्नुभयो”, मन्त्री पौडयालले उकालोसँग भनिन्,“प्रधानमन्त्रीले नै भ्रमण रोकेपछि जाने कुरा भएन।” 

मन्त्री पौड्यालले आफ्नो भ्रमण रोकिएको विषयलाई विडम्बना भएको बताइन्। “यो विडम्बना हो। अन प्रोफसेनल पनि हो। राष्ट्र हित हामीले हेर्नुपर्छ”, उनले भनिन्,“दलभित्रको कुरालाई लिएर राष्ट्रको प्रतिनिधित्व हुने कुरालाई यसरी लिनु हुँदैन थियो।”