आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनको उम्मेदवारीलाई लिएर लामो समय रहिरहेको अन्योल अन्ततः शनिबार दुई पक्षको मनोनयन दर्ता भएसँगै केही हदसम्म साम्य भएको छ। पढ्नुहोस्: राष्ट्रपति पदमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
तर घटनाक्रमले लिएको यो अपेक्षित, तर नयाँ मोडले नेपाली राजनीति केही समय तरंगित रहिरहने निश्चित छ।
सरकार गठन भएयता प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध केही वक्तव्यबाजी नगरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी र नेपाली कांग्रेस गठजोडको नवीकरणपछि स्वाभाविक रूपमा क्रुद्ध भएका छन्। पछिल्लो केही हप्तादेखि उनले सत्ता समीकरण कुनै पनि बेला बदलिन सक्ने भन्दै आएका थिए भने सरकारले फाल्गुन १ लाई सार्वजनिक बिदा घोषणा गरेर ‘जनयुद्ध दिवस’का मनाउने निर्णयको विरोध पनि गरेका थिए।
आज राजधानीमा आयोजित शहीद, घाइते तथा बेपत्ता परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको बोली र काम गराइमा तालमेल नरहेको टिप्पणी गरेका छन्।
“पुष्पकमल दाहाल प्रचण्डज्यु बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्कै। हेर्नु देब्रेपट्टि हुन्छ, निसाना दाहिने पट्टि हुन्छ,“ उनले भने “उहाँले अस्तिसम्म पनि छक्क्याइरहनु भयो। उहाँले हातमा चक्कु लिएर बस्नु भएको थियो। मलाई भन्नु भयो फूल लिएको छु।“ थप : ‘सहयोद्धा, शहीदलाई धोका दिनेले मलाई दिनु ठूलो कुरा भो र!’
उनले प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादीसहित आठ दलको सहमतिप्रति व्यंग्य गर्दै ठूला कचौरामा दुधभात दिएपछि बिरालो छिमेकीमा जानु नौलो विषय नभएको पनि बताएका थिए। हेर्नुहोस् भिडियो: ठूलो कचौरामा दुधभात पाएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन
“आफूलाई त्यस ठाउँमा पुर्याउने सहयोद्धा तथा शहीदहरूलाई धोका दिन भयो भने मलाई धोका दिन कुन ठूलो कुरा भयो र!“ ओलीले आक्रोश पोखेका थिए।
अर्कोतर्फ प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तर्क्रियामा कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका थिए। थप : ‘जनयुद्धका शहीद’लाई राष्ट्रिय शहीद घोषणा गरिने
यसै सन्दर्भमा, संघीय संसद् निर्वाचनअघिको गठबन्धन ब्युँताउने गरी आठ दलबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सरकारबाट बाहिरिएको छ भने एमालेबाहेकका सरकार भएका प्रदेशबाट पनि बाहिरिने निर्णय लिएको छ। राप्रपाले सम्भवत: फाल्गुन २५ मा हुन गइरहेको निर्वाचनमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मत दिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस विषयमा निर्णय लिन पदाधिकारी बैठक बोलाएको थियो। प्रतिनिधिसभामा १९ सदस्य भएको रास्वपाले निर्वाचनमा कसलाई सघाउने भन्नेबारे निर्णय अधिकारिक रूपमा बताइसकेको छैन।
संसदीय निर्वाचनअघिको गठबन्धन ब्युँतिएपछि हालको समीकरण अनौपचारिक रूपमा भंग भइसके तापनि एमालेले फाल्गुन २५ सम्म सरकार नछोड्ने निर्णय लिएको छ।
यता, प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन बेलुकी ६ बजे जेनेभा जाने तयारीमा रहेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमणमा रोक लगाएका छन्। पौड्याल एमालेको तर्फबाट सरकारमा सम्मिलित भएकी हुन्। पढ्नुहोस्: प्रधानमन्त्रीले रोके जेनेभा उड्न लागेकी परराष्ट्रमन्त्रीलाई, मन्त्री भन्छिन्– ‘विडम्बना’
आज देश र विश्वमा चर्चामा रहेका अन्य खबरहरू :
उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ।
आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो। उच्च अदालत पोखराका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले शाहले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ पाएको जानकारी दिए।
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। नाबालिग बलात्कार आरोपित सन्दीपले क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए।
सन्दीपलाई गत पुस २८ गते उच्च अदालत, पाटनले धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो। यता, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।
एमसीसी सम्झौता अनुमोदनको एक वर्ष : निर्माण शुरू हुन अझै एक वर्ष, के हुँदैछ काम?
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट पारित भएको सोमबार एक वर्ष पुग्दै छ। तर एमसीए परियोजना अन्तर्गतका काम भने अझै शुरू भएको छैन।
ऊर्जा र यातायात क्षेत्रका पूर्वाधार विकासमा अनुदान सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतामा एमसीसी र नेपाल सरकारबीच २०७४ भदौमै हस्ताक्षर भएको थियो। नेपालमा राजनीतिक विवाद उत्पन्न भएपछि गत वर्ष फागुन १५ गते मात्र १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता प्रतिनिधिसभाबाट पारित भएको थियो।
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे
चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।
बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले फागुनको शुरूदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।
नर्दन आइरल्यान्डको ब्रेक्जिट सम्झौताका लागि सबथोक गर्ने छौँ : सुनक
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नर्दन आयरल्यान्डको नयाँ ब्रेक्जिट सम्झौताका लागि सबथोक गर्ने बताएका छन्। ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको उनको भनाइ छ। यद्यपि, अहिलेसम्म बेलायत र युरोपेली युनियनसँग कुनै सम्झौता नभएको प्रधानमन्त्री सुनकले बताए।
डाउनिङ स्ट्रिटबाट सन्डे टाइम्सका लागि बोल्दै प्रधानमन्त्री सुनकले भने, “मैले यो साताभरि नै यसमा काम गरिरहेको छु। हामीले यसका लागि सबथोक दिनेछौँ। ब्रेक्जिट संयुक्त अधिराज्य (युके) भित्रका सबै क्षेत्रमा लागू हुनसक्छ भन्ने देखाउन चाहन्छु। ब्रेक्जिटसम्बन्धमा केही पूरा गर्न बाँकी कुराहरू पनि छन्। हामीले यसका लागि सब कुरा दिनेछौँ।“
जी–२० बैठकमा पनि रुसलाई चीनको बलियो समर्थन
चीनले रुसले युक्रेनमाथि गरिरहेको आक्रमण विरोध गर्न अस्वीकार गरेपछि जी–२० सम्मेलनमा अन्तिम सहमति जुट्न सकेन। भारतको बैंगलोरमा सम्पन्न दुईदिने (फेब्रुअरी २४–२५) जी–२० सम्मेलनमा विश्वका ठूला अर्थतन्त्र भएका देशहरूका अर्थमन्त्रीहरू र केन्द्रीय गभर्नरहरूबीचको वार्तामा रुस–युक्रेन युद्ध विषयमा मत बाझिएको हो।
जी–२० मा रुसमाथिको आक्रोशलाई चीनले कडा शब्दमा निन्दा गरेको छ। यता, मस्कोले रुसविरोधी पश्चिमा देशहरू कमजोर बनेको प्रतिक्रिया दिएको छ। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले “रुसविरोधी धारमा छलफल हुँदै गर्दा जी–२० सम्मेलनका गतिविधिहरू निरन्तर रूपमा कमजोर बनिरहेको” बताएका छन्।
विचार–
समावेशिता : हिंसा या अहिंसा तपाईं र मेरो छनोट होइन
देश समृद्ध हुन समाज समावेशी हुनुपर्छ। देश सभ्य र सुसंस्कृत हुन पनि समावेशी आवश्यक छ। यो हाम्रो परिकल्पना हो र परिकल्पनालाई यथार्थ बनाउने जिम्मा पनि हाम्रै हो। उत्पीडित जो हो, उसैले प्रयास गर्ने हो। बहिष्करणमा पारिएकाहरूले नै हस्तक्षेप गर्ने हो। कसैले गर्देला र समानता स्थापित होलान् भनेर सोच्नु कल्पना हुन्छ, परिकल्पना हुन्न।
आदिम साम्यवादको कुरा कार्ल मार्क्सले गरेका हुन्, तर मलाई थाहा छैन, त्यहाँको समाज कति असमावेशी थियो। के साँचो हो भने यो प्रकृतिचाहिँ कहिल्यै असमावेशी थिएन र छैन। यो पृथ्वीले कसैलाई उचनिच र बहिष्करण गरेको थिएन। यो भेद मान्छेले नै गरेको हो। समाज, राज्य र राजनीतिले सबैलाई विभेद गरेन, केहीलाई गर्यो। समाज राज्य, संस्कृति र धर्मले बहिष्करण गर्यो। त्यसै कारण हामीले आजसम्म समावेशी र आत्मसम्मानयुक्त समाज पाएनौँ।
संविधानमा समावेशी लेखे पनि, सार्वजनिक ठाउँमा जेजस्ता बौद्धिक विमर्श गरे पनि चरित्रका हिसाबमा हामी समावेशी हुन सकेका छैनौँ। सन्तोष परियारको विचार: 'हिंसा या अहिंसा तपाईं र मेरो छनोट होइन'
जलवायु र स्वास्थ्य
‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्य समस्या निम्त्याउँदै छ’
अहिले विश्वका लागि टाउको दुखाई बनिरहेको जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव मानिसको दैनन्दिनमा समेत परिरहेका छन्। नेपाल पनि यसबाट अछुतो छैन। जलवायु परिवर्तनसँगै मौसम चक्र खलबलिँदा अतिवृष्टि, प्राकृतिक प्रकोप, खडेरीजस्ता समस्या मात्र बढेका छैनन्, धनजनको क्षति पनि बढ्दो छ। बालीनाली उत्पादनमा परेको असरले आजीविकामै संकट पैदा गरेको छ भने नयाँ–नयाँ रोगव्याधि निम्तिँदा जनस्वास्थ्य पनि प्रभावित बनेको छ। पछिल्लो समय यसले मानसिक स्वास्थ्यमा पनि कैयौँ समस्या निम्त्याउन थालेको छ। जलवायुमा परिवर्तनका कारण मानसिक स्वास्थ्यमा परेका र पर्न सक्ने असरहरूबारे विश्वभर अध्ययन पनि हुन थालेको छ। नेपालमा चाहिँ अवस्था कस्तो छ? उकालोका लागि सुस्मिता खड्काले मनोविद् गोपाल ढकालसँग गरेको कुराकानी: ‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्य समस्या निम्त्याउँदै छ’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
