सातदोबाटो केपी ओली कपको फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।

काठमाडौँ– सातदोबाटो युथ क्लब काठमाडौँमा जारी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। सोमबार  त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।

एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो। पेनाल्टीमा सातदोबाटोका सुदीप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ र पासाङ लामाले गोल गरे।

दीपकराज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए। यस्तै आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे। सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए। विकास खवासको प्रहार भने क्रसबारमा लागेर बाहिरिएको थियो।

सातदोबाटोले उपाधिका लागि आयोजक केपी ओली एफसी र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ।