मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि

उत्कृष्ट महिला खेलाडीको उपाधि स्पेन तथा बार्सीलोनाकी मिडफिल्डर एलेक्सिया पुटेलसले जितेकी छन्।  

काठमाडौँ– अर्जेन्टिना र पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा अवार्डमा उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्।

मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन्। पेरिसमा आयोजित समारोहमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अवार्ड प्रदान गरेका थिए। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएका थिए।

उनले सन् २०२१/२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए। “यो अचम्मको कुरा हो। यो एक ठूलो वर्ष हो,” दोस्रो पटक अवार्ड जितेपछि मेस्सीले भने, “मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ। मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरेँ।”

यस्तै उत्कृष्ट महिला खेलाडीको उपाधि एलेक्सिया पुटेलसले जितिन्। उनी स्पेन र बार्सीलोनाकी मिडफिल्डर हुन्।

उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड अर्जेन्टिना लियोनल स्कालोनीले जितेका छन्। उनले म्यानचेस्टर सिटीलाई छैटौँ प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल मड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई हराए।

इङल्यान्डकी सरिना विगम्यान उत्कृष्ट महिला प्रशिक्षक घोषित भइन्। अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए। महिलातर्फ इङल्यान्डकी मेरी इर्प्सले यो अवार्ड जितिन्।