नाबालिग बलात्कार आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान जारी

ललितपुरमा व्यवसाय गर्दै आएका चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ। 

काठमाडौँ– चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ।

नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाइ यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सञ्जयसिंह थापाले बताए।  ललितपुर महानगरपालिका–२२ वुङमतीस्थित ‘कोका न्यु प्युरी एन्ड म्याट्रेस कम्पनी’ सञ्चालन गर्दै आएका ४९ वर्षीय मिङलाई केही दिनअघि सीआईबीले पक्राउ गरेको थियो। 

काठमाडौँ ल्याएका बालिकालाई मिङले शुरूमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत आफैँले बेहोर्ने गरेको पनि खुलेको छ। यसरी नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको एसपी थापाले बताए।

“अहिलेसम्म छ नाबालिकामध्ये दुई जनालाई यौन शोषण गरेको खुलेको छ,” उनले भने, “अन्यलाई होटलमा लगेर ललाइफकाइ गरी राखिएको पाइएको छ।”  उनका अनुसार मिङको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन्। झापा, कास्कीलगायत जिल्लाबाट आएका छ बालिकाको उद्धार गरिएको सीआईबीले जनाएको छ। 

मिङमाथि थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको एसपी थापाले बताए। उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको छ।